
सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, ५ जना सरकारी अधिकारी र एक कम्पनीसमेत प्रतिवादी
काठमाडौं- राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आर्थिक वर्ष २०७५/७६ मा केन्द्रमार्फत विभिन्न उपकरण खरिदमा करिब ५ करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, पुतलीसडकस्थित म्याक्स इन्टरनेशनल प्रालि र त्यसका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेनलाई समेत प्रतिवादी बनाइएको छ। सबैविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कसुर दर्ता गरी सोही बराबरको बिगो दाबी गरिएको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको NITC/GNCB-6-075/076 शीर्षकको खरिद प्रक्रिया अन्तर्गत लागत अनुमान २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ बनाइएको थियो। सो अनुमानमा मिलेमतो गरी स्वार्थ बाझिने गरी कार्य भएको, सम्झौताअनुसार ‘अनसाइट सपोर्ट वारेन्टी’ नदिइ पनि त्यसबापत भुक्तानी गरिएको, र वास्तविक कार्य बिना नै पैसा भुक्तानी गरिएको आयोगको दाबी छ।
आयोगले म्याक्स इन्टरनेशनलले २०७६ असार ४ मा पेश गरेको बिलअनुसार ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकमा भ्याटबाहेक २ करोड ६५ लाख र अर्को शीर्षकमा ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको उल्लेख गरेको छ।
पौडेलविरुद्ध यसअघि पनि ४ लाख अमेरिकी डलरबाट घूसको बार्गेनिङ सुरु गरी २ लाख ८० हजारमा पक्का गरेको प्रमाण फेला परेको थियो। आयोगले उक्त बार्गेनिङको विस्तृत विवरण पौडेल र भारतीय एजेन्ट दीपक आनन्दबीच ह्वाट्सएप कुराकानीबाट संकलन गरेको थियो।



कागजपत्र |
