

नागढुंगामा ट्राफिक इन्स्पेक्टरले कुटे प्रहरी हवल्दार, भिडिओ भाइरल

काठमाडौं- काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले एक प्रहरी सहायक हवल्दारमाथि सार्वजनिकरूपमा कुटपिट गरेको घटनाले चर्चा पाएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रशासनले छानबिन थालेको छ।
बुधवार बिहान साढे ८ बजेतिर भएको उक्त घटनामा इन्स्पेक्टर साहले ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत सहायक हवल्दारलाई सडकमै चड्कन हानेको देखिन्छ। भिडिओमा देखिएअनुसार इन्स्पेक्टर साहले हवल्दारलाई ट्रक जाँचका क्रममा रकम लिएको आशंकामा झापड हानेका हुन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले दुई प्रहरीबीच विवाद भएको प्रारम्भिक जानकारी आएको बताए।
घटनाबारे काठमाडौं जिल्ला प्रहरी परिसरले समेत छानबिन सुरु गरिसकेको छ। प्रहरी स्रोतका अनुसार, भारतीय ट्रकबाट केही कार्टुन बिस्कुट राखिएको पाइएपछि इन्स्पेक्टरले सहायक हवल्दारलाई समात्न खोज्दा उनले प्रतिवाद गरेका थिए, जसपछि इन्स्पेक्टरले झापड हानेको बताइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेले घटनाबारे बुझ्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

