अमेरिका र साउदीबीच १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता


काठमाडौं – अमेरिका र साउदी अरबले १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन्।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सम्झौता अनुसार साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा दुई देशबीच भएको सम्झौता इतिहासकै ठूलो रक्षा सम्झौता भएको ह्वाइट हाउसको भनाइ छ।

सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमानले हस्ताक्षर गरेका हुन्।

सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय समावेश छन्।

त्यस्तै दुई देशबीच ऊर्जा, खनिज स्रोत, संक्रामक रोगसम्बन्धी सहयोग लगायत विषयमा पनि सहमति भएको छ।

साउदी अरबले ‘अमेरिकामा लगानी गर्ने प्रतिबद्धता’ समेत जनाएको ह्वाइट हाउसले उल्लेख गरेको छ। अमेरिका वरपरका कृत्रिम बुद्धिमत्ता तथ्यांक केन्द्रमा साउदीको २० अर्ब डलरको लगानी छ। अमेरिकी प्रविधि फर्महरूबाट दुवै देशमा अत्याधुनिक रूपान्तरणकारी प्रविधिमा ८० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेका छन्।

त्यस्तै, साउदी अरबले १४ अर्ब २० करोड डलरको ग्यास टर्बाइन र ऊर्जा समाधान तथा ४ अर्ब ८० करोड डलरको बोइङ ७३७(८ यात्रुवाहक विमान निर्यात गर्ने भएको छ।

गत २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेलगत्तै भएको एक टेलिफोन कुराकानीमा साउदी युवराज एमबीएसले चार वर्षभित्र अमेरिकामा ६ खर्ब अमेरिकी डलर लगानी गर्ने वाचा गरेका थिए।

सन् २०१७ मा ट्रम्पले १ खर्ब १० अर्ब डलरको सैन्य उपकरणसहित ४ खर्ब ५० अर्ब डलरभन्दा धेरैको सम्झौता भएको दाबी गरेका थिए। यसपटकको भ्रमणबाट ट्रम्पले साउदी अरबबाट १० खर्ब डलरसम्मको लगानी भित्र्याउने बताइएको छ।

ट्रम्पले एमबीएसलाई खाडी राष्ट्रबाट हुने लगानीले अमेरिकामा रोजगारी सिर्जना गर्न मद्दत गर्ने बताएका थिए।

राष्ट्रपति ट्रम्प पश्चिम एसियाको चार दिने भ्रमणका क्रममा मंगलबार साउदी अरबको राजधानी रियाद पुगेका हुन्। ट्रम्पसहितका वरिष्ठ अमेरिकी अधिकारीलाई साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले किङ खालिद विमानस्थलमा स्वागत गरेका थिए।

आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक यात्राका क्रममा उनले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स ९यूएई० को भ्रमणमा निस्केका हुन्। पोप फ्रान्सिसको अन्तिम संस्कारमा सामेल हुन २७ अप्रिलमा भ्याटिकन पुगेका भए पनि ट्रम्पको साउदी भ्रमण दोस्रो कार्यकालको पहिलो कुटनीतिक भ्रमण हो।

यसअघि अमेरिकी राष्ट्रपतिले बेलायत, क्यानडा वा मेक्सिको भ्रमण गर्ने परम्परा तोड्दै ट्रम्पले साउदी अरबलाई रोजेका हुन्।

साउदी, कतार र यूएईका नेताहरूसँगको सम्बन्ध बलियो बनाउँदा महत्त्वपूर्ण राजनीतिक र आर्थिक लाभ प्राप्त हुने ट्रम्पको ठम्याइ देखिन्छ। ह्वाइट हाउसका अनुसार यूएईले अमेरिकामा १० वर्षमा १४ खर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, कतारको शाही परिवारले राष्ट्रपति ट्रम्पको राष्ट्रपति विमानको रूपमा विशेष प्रयोगका लागि ४० करोड डलर मूल्यको विलासी जेट उपहार दिँदैछ। यो विमान उनले पद छोड्नुभन्दा केही समय अघि भविष्यको ट्रम्प राष्ट्रपति पुस्तकालयका लागि दिइने जनाइएको छ।

प्रतिक्रिया