

तीनै दाजुभाइ प्रहरी अफिसर, बुवा भन्छन्-गर्व लाग्छ

काठमाडाैं- अछामको दुर्गम रामारोसन गाउँपालिका–४ का देवानन्द न्यौपाने र पारु न्यौपानेका घरमा कहिल्यै ठूलो पहुँच, नाता, न चिनजान थियो। तर, त्यही साधारण शिक्षक परिवारका तीन छोराहरू अहिले नेपाल प्रहरीको फरक–फरक जिम्मेवारीमा अफिसर बनेर देशको सेवा गरिरहेका छन्।
शिक्षक पेशाबाट हालै अवकाश प्राप्त गरेका देवानन्द र गृहणी पारुका तीन छोराहरू अहिले नेपाल प्रहरीमा अफिसर छन् । जेठा छोरा सिद्धराज न्यौपाने हाल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निजी सुरक्षा अधिकृत (पीएसओ) छन्। उनी प्रहरी नायब उपरिक्षक (डिएसपी) हुन् । उनी २०६३ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए।
२०७४ मा डिएसपीमा बढुवा भएका उनले अधिकांश समय सुरक्षा कमाण्ड र इञ्चार्जको रूपमा बिताएका छन्। अब चाँडै प्रहरी उपरिक्षकमा बढुवाको लाइनमा रहेका उनी संगठनभित्र एक कुशल अधिकारीका रूपमा परिचित छन्।
माइलो छोरा केशर न्यौपाने अहिले सल्यान जिल्लाको कमाण्ड सम्हालिरहेका डिएसपी हुन्। २०७० मा निरीक्षक पदमा प्रवेश गरेका उनी २०८० सालमा डिएसपीमा बढुवा भए। उनले काठमाडाैं, हेटौंडा लगायत विभिन्न जिल्लामा इञ्चार्जको जिम्मेवारी सम्हालिसकेका छन्। अहिले सल्यानमा उनको मितव्ययी कार्यशैली र नागरिकसँगको समन्वयका कारण उनी निकै प्रशंसित छन्।
कान्छा छोरा मुकेश न्यौपानेले २०७६ मा प्रहरी निरीक्षकबाट सेवा शुरू गरे। हाल उनी रुपन्देही जिल्लाको इलाका प्रहरी कार्यालय बेलैयामा कार्यरत छन्। संगठनभित्र उनी अनुशासनप्रिय र लगनशील अधिकृतका रूपमा चिनिन्छन्।
बुबा देवानन्द न्यौपाने ४४ वर्ष शिक्षण पेसामा संलग्न रहे। उनी भन्छन्, “मेरो न कुनै राजनीतिक पहुँच थियो, न त भनसुन गर्ने कोही। छोराहरूको आफ्नै इमानदार मेहनतले उनीहरू यहाँसम्म पुगेका हुन्। अहिले सम्झिँदा गर्व लाग्छ।”
न्यौपाने दम्पतीका अन्य सन्तानहरू पनि कम सफल छैनन्। साइँलो छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर छन् भने छोरी कविता न्यौपाने चिकित्सक छिन् र अहिले दार्चुला अस्पतालमा कार्यरत छन्।
परिवार हाल कैलालीको जानकी गाउँपालिका अन्तर्गत बन्देवीपुरमा बसोबास गर्दै आएको छ। न्यौपानेका बुबाआमा पहिल्यैदेखि त्यहीँ बस्दै आएका थिए। पछि देवानन्द परिवारसहित त्यहीँ सरेका हुन्।

