

आवासीय चिकित्सकको भत्ता नदिए निजी मेडिकल कलेजको सम्बन्धन खारेज हुने चेतावनी

काठमाडौं- सरकारी तहकै जस्तो निर्वाह भत्ता माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकलाई समर्थन जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई कडा चेतावनी दिएका छन्। मन्त्रालयमा भएको छलफलमा उनले चेतावनी दिँदै भने– “चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गरिन्छ।”
आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोलीसँगको भेटमा मन्त्री पौडेलले सरकारकै निर्णयअनुसार निर्वाह भत्ता उपलब्ध गराउन ढिलाइ गरिरहेका मेडिकल कलेजहरू गैरजिम्मेवार बन्दै गएको बताए। “यदि आवासीय चिकित्सकलाई आठौं तहसरह भत्ता नदिए, सम्बन्धन गुम्नेछ,” उनले भनेका छन्।
चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको १६औं बैठकमा सार्वजनिक शिक्षण संस्थाजस्तै निजी कलेजका आवासीय चिकित्सकलाई पनि समान भत्ता दिने निर्णय गरेको थियो। दुई महिना बितिसक्दा पनि कार्यान्वयन नभएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

