
कम्बोडिया पुर्याएर साइबर दास बनाउने गिरोहका एक व्यक्ति पक्राउ
काठमाडौं— वैदेशिक रोजगारीको मिठो प्रलोभन देखाई नेपाली युवालाई कम्बोडिया पुर्याएर साइबर दास बनाउने गिरोहमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार, पक्राउ पर्ने व्यक्ति कैलाली टिकापुर नगरपालिका–२ का स्थायी बासिन्दा तथा हाल काठमाडौंको ज्ञानेश्वर, रातोपुलमा बसोबास गर्दै आएका २२ वर्षीय सन्देश शाही हुन्।
शाहीले मासिक १ लाखदेखि १ लाख ५० हजार रुपैयाँ कमाइ हुने अनलाइन रोजगारीको लालच देखाएर पीडितलाई कम्बोडियामा पुर्याएको आरोप छ। प्रहरीले जनाएको अनुसार, गत वर्ष वैशाख ६ गते उनले पीडितलाई काठमाडौंबाट नेपालगञ्ज पुर्याई रूपैडिहा नाका हुँदै भारतको लखनऊ, त्यसपछि मलेसिया ट्रान्जिटमार्ग भएर कम्बोडिया लगेका थिए ।
कम्बोडियामा चिनियाँ नागरिकहरूको अवैध कम्पनीमा पुर्याई पीडितलाई जबरजस्ती बन्धक बनाइएको थियो । त्यहाँ उनलाई क्रिप्टो करेंसी र बिटक्वाइनमा लगानी गराउन भारतीय नागरिकहरूसँग दिनमा १० जनासँग ‘केटी’ बनेर छलफल गर्नुपर्ने र महिनामा भारु २० लाख ठगी गर्नुपर्ने लक्ष्य तोकिएको पाइएको छ ।
पीडितलाई दिनको १३–१५ घण्टासम्म जबर्जस्ती अनलाइन स्क्यामिङमा लगाएर श्रम शोषण गरिएको उजुरी प्रहरीमा परेको थियो। उजुरीको आधारमा ब्यूरोले वैशाख ९ गते शाहीलाई उनको बसोबास स्थलबाट पक्राउ गरेको हो ।
हाल उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।



कागजपत्र |
