

धनकुटामा दुई किशोरमाथि छुरा प्रहार

धनकुटा- धनकुटामा छुरा प्रहारबाट दुई किशोर घाइते भएका छन् । धनकुटा नगरपालिका–५ बिहीबारे हाट नजिक सोमबार राति साढे ११ बजे भएको घटनामा स्थानीय १७ वर्षीय आयुष राई र कुशल राईमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
कुशलको टाउको तथा ढाड र आयुषको गर्धन तथा बायाँ पाखुरामा चोट रहेको जनाइएको छ । घाइतेमध्ये कुशललाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लगिएको छ । आयुषको भने जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
घटनामा सम्लग्न धनकुटा–६ नाशल चोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा–७ का १८ वर्षीय लाजीहाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । खड्गीलाई नाशल चोक र लिम्बुलाई शिव मन्दिर नजिकबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

