ललितपुरमा बहिनीको हत्या गरेर शव पानी ट्यांकीभित्र फाल्ने १५ वर्षका दाइ पक्राउ


काठमाडौं – गत शुक्रबार ललितपुरको च्यासलस्थित एक घरमा ११ वर्षीया दुर्गा बोहराको शव पानी ट्यांकी भित्र फेला परेपछि प्रहरीले गहिरो अनुसन्धान सुरु गरेको थियाे । प्रारम्भिक अनुसन्धानले दुर्गा आफ्नै १५ वर्षीय सहोदर दाइको हातबाट मारिएकाे खुलेकाे छ ।

दुर्गा बोहरा बझाङको स्थायी बासिन्दा भएकी थिइन् र च्यासलको एक घरमा आफ्ना परिवारसँग भाडामा बस्दै थिइन् । उनी चैत ४ गतेदेखि परिवारसँग सम्पर्क विहीन भएकी थिइन् र सोही दिन उनका बुवा प्रहरीमा हराएको उजुरी लिएर गएका थिए । दुर्गा परिवारको सम्पर्कबाट छुटेकाे एक महिनापछि उनका शव पानी ट्यांकीमा फेला परेकाे थियाे ।

परिवार सरेको पुरानो डेरामा ट्यांकीको सफाई गर्ने क्रममा सञ्जय बोगटीको परिवारले दुर्गाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  प्रहरीले छानबिन गर्दै जाँदा दुर्गा आफ्नै दाइको घातक हिंसाको शिकार भएकाे खुलेकाे छ ।

प्रहरीको अनुसन्धानमा दुर्गाका दाइले आफ्नो बहिनीलाई घाँटीमा डोरीले कसेर हत्या गरेको कुरा स्वीकार गरेका छन् । उनले शवलाई घरको बाथरुम नजिक रहेको पानी ट्यांकीमा लुकाएका थिए । हत्या पछिको कारण भने घरेलु विवाद र लागुऔषध सेवन रहेको खुलेको छ।

प्रहरीका अनुसार, मङ्गलबार आरोपित युवकमाथि कर्तव्य ज्यानको मुद्दा दर्ता गरी थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया