

धरानको जङ्गलमा मृत फेला परेकी चुनकुमारीको हत्या: देवर, देवरानी र नन्दसहित ४ जना पक्राउ

विराटनगर — सुनसरीको धरान–६ स्थित पाँचकन्या सामुदायिक जङ्गलमा मृत फेला परेकी चुनकुमारी बुढाथोकीको हत्या गरिएको पुष्टि भएको छ ।
घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले मृतकका देवर, देवरानी, नन्द र एक बाह्य व्यक्तिसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बिहीबार राति झापा र मोरङबाट फरार अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, घटनामा अन्य व्यक्तिहरूको संलग्नता रहेको आशंकामा थप अनुसन्धान जारी छ ।
गत सोमबार दिउँसो १२:३० बजे पाँचकन्या जङ्गलमा अर्धनग्न अवस्थामा चुनकुमारीको शव फेला परेको थियो । अनुसन्धानबाट उनीलाई फकाएर जङ्गलमा लगिएको र त्यहीँ हत्या गरिएको खुलेको प्रहरी स्रोतले जनाएको छ ।
घाँटी तथा शरीरका अन्य भागमा चोट देखिएको मृतकको पहिचान धनकुटा महालक्ष्मी नगरपालिका–१ माइती र वडा नं २ स्थित घर भएकी चुनकुमारी बुढाथोकीका रूपमा गरिएको हो ।
उनी सुनसरी इटहरीको हलगडामा डेरा गरी बस्दै आएकी थिइन् । दुई वर्षदेखि त्यहीँ छोरालाई पढाउँदै एक्लै बस्दै आएकी चुनकुमारीका श्रीमान प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका छन् ।

