पूर्ण गुरुङको नेतृत्वमा बन्दैछ अष्ट्रेलियाको ऐतिहासिक पुल


होबार्ट, तास्मानिया– स्याङ्जाको एक सामान्य गाउँमा जन्मिएका पूर्ण गुरुङ अहिले अष्ट्रेलियाको सबैभन्दा लामो पुल निर्माणको नेतृत्व गरिरहेका छन् । पुलको पिलरमाथि उभिएका उनका योजनाहरू अब डर्वेन्ट नदी जस्तै संसारभरि बगिरहेका छन् ।

“हामी यहाँ पुल मात्रै बनाइरहेका छैनौं . नेपाली प्रतिभा र पेशागत सम्मानको कसेको धरहरा हो यो,” ५५ वर्षका गुरुङ गर्वका साथ भन्छन्।

गुरुङको नेतृत्वमा काम गरिरहेको टिममा न्यूजिल्याण्ड र अष्ट्रेलियाको मुख्यभूमिबाट आएका नेपाली इन्जिनियरहरू छन् ।  उनले पूर्व सहकर्मी मन्सुबा गुरुङलाई न्यूजिल्याण्डबाट बोलाएका छन् भने अष्ट्रेलियाका मुख्यभूमिबाट अन्य नेपाली इन्जिनियरहरू पनि यहाँ कार्यरत छन् ।

नेपालमा ढिलो, अस्तव्यस्त, र अलपत्र रहने निर्माण कार्यको सन्दर्भमा तास्मानियाको यो परियोजना भने समयमै, योजनाबद्ध र प्रभावकारी ढंगमा अघि बढिरहेको छ । त्यो सफलता गुरुङ जस्ता इन्जिनियरहरूको कारण सम्भव भएको हो।

प्रवासीहरूबाट बनिरहेको ‘नयाँ नेपाल’
नेपालीहरू अब केवल कामदारका रूपमा हैन, नेतृत्वदायी भूमिकामा पनि विश्वभर देखिन थालेका छन् । तास्मानियाको ७८६ मिलियन डलरको ब्रिजवाटर परियोजना त्यसको जीवन्त उदाहरण हो ।

पूर्ण गुरुङको अनुभव अफ्रिकाका पुलदेखि हङकङका सुरुङ हुँदै तास्मानियासम्म फैलिएको छ । उनीजस्तै प्रवासी नेपालीहरूको अनुभव र मेहनतले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ चिनारी दिइरहेको छ ।

गुरुङले अफ्रिकाका पुल, हङकङका सुरुङ, र अष्ट्रेलियाका अन्य परियोजनामा काम गरिसकेका छन् ।  तास्मानियाको डर्वेन्ट नदीमाथि बन्ने यो पुलमा साइकल र पैदल यात्रुहरूको सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ।

पूर्ण गुरुङ जस्ता इन्जिनियरहरू केवल पुल बनाइरहेका छैनन् । उनीहरू देश–देशबीचको सीप, विश्वास र सम्भावनाको पुल बनाइरहेका छन् । “तीन दशकको अनुभवले सिकाएको छ । इमान, मेहनत, र टिमवर्क कहिल्यै पुरानो हुँदैन,” उनी भन्छन् ।

पूर्ण गुरुङलाई उनका सहकर्मीहरूले ‘गुरु’ भनेर सम्मान गर्छन् । उनले टीममा आत्मबल जगाउने काम मात्र होइन, नेपाली समुदायबीच एकता र प्रेरणा पनि बाँडिरहेका छन् ।

“गुरुङ सर हुनुहुन्थेन भने म न्यूजिल्याण्डबाट यहाँ आउँदिनथे होला,” भन्ने गर्छन् उनका सहकर्मी मन्सुबा गुरुङ । “उहाँले हामीलाई विश्वास गर्नु भयो, र अब हामीले उहाँको विश्वासलाई कामबाट देखाउनु परेको छ ।”

अब एडिलेडमा सुरुङ परियोजनाको नेतृत्व गर्दै गुरुङ र उनको टिमले फेरि एक पटक नेपाललाई विश्वको मञ्चमा गौरवपूर्ण ढंगले उभ्याउने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया