

तीनकुने हिंसात्मक प्रदर्शनमा सहभागी शाही युवा शक्तिका उपाध्यक्ष पक्राउ

काठमाडौं- शाही युवा शक्ति नेपालसँग आबद्ध रहेका दिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंको गोंगबु क्षेत्रबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार श्रेष्ठ संगठनमा अध्यक्ष पशुपति खड्कापछि दोस्रो वरीयतामा रहेका व्यक्ति हुन् । शाही युवा शक्तिका अध्यक्ष खड्का यसअघि नै पक्राउ परी प्रहरी हिरासतमा रहेका छन् ।
श्रेष्ठलाई १५ चैतमा काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान गर्नका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले जानकारी दिए ।

