

सगरमाथा आरोहणमा जाँदै असई शेर्पा, शुभकामनासहित ब्यानर हस्तान्तरण

काठमाडौं- सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि तयारीमा रहेकी प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित ब्यानर हस्तान्तरण गरिएको छ ।
सोमवार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको सन्देश समेटिएको ब्यानर हस्तान्तरण गर्दै शुभकामना व्यक्त गरे । उनले शेर्पाको यात्रा सहज, सुरक्षित र सफल होस् भन्ने कामना गर्दै आरोहणमा साथ र सहयोग गर्ने सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा अपराध अनुसन्धान विभागअन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयकी प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसाविरुद्धको अभियान र सगरमाथा आरोहणको उद्देश्यबारे संक्षिप्त जानकारी दिइन् ।

