

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालतमा रविले दिए निवेदन

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो, जसमा लामिछानेले असहमत हुँदै उच्च अदालतमा दफा ७३ अनुसार निवेदन दर्ता गरेका छन् ।
अब लामिछानेले चितवनको सहारा सहकारीको मुद्दामा ५४ लाख धरौटीको आदेशविरुद्ध पनि उच्च अदालतमा निवेदन दिने तयारी गरेका छन् । यसअघि उनले कास्की र रुपन्देही जिल्ला अदालतका आदेशविरुद्ध पुनरावेदन दर्ता गरिसकेका छन् । पर्साको सानो पाइला सहकारीको बचत अपचलनको मुद्दामा भने अहिलेसम्म कुनै मुद्दा दर्ता भएको छैन ।
लामिछानेले हरिहर भवनमा पुनरावेदन दर्ता गर्न गएपछि रास्वपाका सदस्यहरू अदालत बाहिर जम्मा भएका थिए ।

