

प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

सर्लाही – सर्लाहीको हरिपूर्वाका एक युवकलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१७, रानिगन्जकी ३२ वर्षीया लक्ष्मीकुमारी महतो रहेकी छन् । महतोले हरिपूर्वा नगरपालिका–५, का २१ वर्षीय शिवमकुमार यादवलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै पटक–पटक गरी दुई लाख ७५ हजार रुपियाँ ठगी गरेको प्रमाण फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले बताए ।
सर्लाही प्रहरीले महिलाविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

