

को हुन् डन गिरीको टाउको फुटाउने कँडेल ?

काठमाडौं – आइतबार मध्यरातमा विराटनगरस्थित सम्राट क्यासिनोबाहिर दुई ‘गुण्डा’ समूहबीच झडप हुँदा क्यासिनोका सञ्चालक समेत रहेका अभिषेक गिरीको टाउको फुटेको छ ।
क्यासिनो प्रवेशको विषयलाई लिएर गिरी र अर्का डन रोनाल कँडेलको पक्षबीच भएको झडपमा कँडेल पक्षले गिरीको टाउकोमा गमलाले हानेपछि उनको टाउको फुटेर अहिले टाँचा लगाइएको जनाइएको छ ।
नेपालीलाई प्रतिबन्ध रहेको क्यासिनो प्रवेशका लागि कँडेलसहित एमाले मोरङका नेता किरण लामाले जबर्जस्ती गरेपछि दुईपक्षबीच कुटाकुट भएको हो । मध्यरातमा विभिन्न काण्डमा मुछिँदै आएका कँडेललाई लिएर क्यासिनो पुगेका लामाले अर्का डन गिरीको टाउकोमा गमला प्रहार गरेपछि स्थिति भयावह बनेको थियो ।
मध्यरातमा भएको झडप नियन्त्रणमा लिन नसकेपछि डिएसपीको कमाण्डमा प्रहरीको टोली खटिएको थियो ।
घटनामा संलग्न भनिएका कँडेल यसअघि पनि पटकपटक धेरै झगडाहरुमा मुछिइरहने व्यक्ति हुन् । उनी यसअघि विराटनगरमा एक व्यक्तिलाई तरबार प्रहार गरेको आरोपमा पक्राउ परेका थिए । उनले बिराटनगरको बसपार्कमा रातीको समयमा विराटनगरकै विजय कामतलाई तरबार प्रहार गरेर घाइते बनाएका थिए । त्यसपछि प्रहरी खोरमा परेका उनलाई ज्यान मार्ने उद्योगमा म्याद थपिए पनि अदालतबाट धरौटीमा रिहा भएका व्यक्ति हुन् ।
पटक–पटक विराटनगरको क्यासिनोमा वितण्डा मच्चाइरहने कँडेल २०८० पुस २६ गते सम्राट क्यासिनोबाटै बाहिरिने क्रममा विक्रम थपलिया भनिने व्यक्तिसँग कुटाकुट गरेका थिए । त्यस्तै पछिल्लो समय कँडेल मिटर ब्याज र असुलीको धन्दामा संलग्न रहेको जनाइएको छ ।
यसअघि ७ पटक पक्राउ परिसकेका कँडेल सधैं विवादमा आइरहेका छन् । कँडेल २०७१ सालमा सार्वजनिक अपराधको मुद्दा, २०७३ सालमा ज्यानमार्ने उद्योग, २०७४ सालमा सार्वजनिक अपराध, अभद्र मुद्दाहरुमा मुद्दा चलेका व्यक्ति हुन् भने २०७७ सालमा ठगी मुद्दामा पक्राउ परेका थिए ।
केही समय जेल बसेर रिहा भएका कँडेल पछिल्लो समय लामासँग नजिक रहेर गुण्डागर्दीमा संलग्न रहेको बताइएको छ ।
क्यासिनो प्रवेशमा प्रतिबन्ध रहे पनि नेपालका क्यासिनोहरुमा नेपालीहरुलाई अवैध तरिकाले प्रवेश गराइएको घटना यो नयाँ भने होइन । राजनीतिक शक्ति एवं गुण्डागर्दीको आडमा यसअघि पनि सम्राट क्यासिनोमा पटकपटक झडप हुँदै आएको छ । पछिल्लो यस घटनाबाट विराटनगरमा यसअघि नै डनगिरी चलाएर बस्दै आएका गिरीको समूहलाई कँडेलले चुनौती दिन लागेको अनुमान लगाउन सकिन्छ ।
विराटनगरमा हाल दुईवटा क्यासिनो सञ्चालन हुँदै आएका छन् । यी क्यासिनोहरुमा निर्वाध रुपमा नेपालीहरु प्रवेश पाउनुलाई प्रहरीले कडाई नगर्नु प्रमुख कारण भएको स्थानीयहरु बताउँछन् । क्यासिनोमा नेपालीहरु छिर्ने गरेको जानकारी भए पनि प्रहरीले सूचना दिएर मात्रै छापा मार्ने गरेको पनि स्रोतले जनाएको छ ।

