

मोरङ कारागारका थुनुवाको मृत्यु, २५ हजार धरौटी तिर्न नसक्दा पुगेका थिए जेल

विराटनगर — मोरङ कारागारका थुनुवाको मृत्यु भएको छ । अदालतले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार चलान भएका एक थुनुवाको फैसला हुन नपाउँदै निधन भएको हो ।
मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का ३८ वर्षीय जितबहादुर देवान रहेका छन् । गत मंसिर २३ गते मोरङ जिल्ला अदालतले आपराधिक उपद्रो मुद्दामा उनलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । तर, उक्त धरौटी तिर्न नसकेपछि उनलाई कारागार पठाइएको थियो ।
कारागारमा रहेका बेला देवानलाई हातखुट्टा नचल्ने समस्या देखिएको थियो । स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार उनको निधन भएको कारागार प्रशासनले जनाएको छ ।

