

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने मुकेश सिंहको अवैधधन्दा

काठमाडौं – राजधानीको नागार्जुन नगरपालिका वडा नं. ४ स्थित गढीमाई प्याकेजिङ उद्योगले गुणस्तरहीन खाद्यान्न बिक्री वितरण गर्दै आएको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले बुधबार मुकेश सिंहले सञ्चालन गरेको उक्त उद्योगमा छापा मारेपछि उक्त तथ्य सार्वजनिक भएको हो ।
अपराध अनुसन्धान कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र नगरपालिकाले संयुक्तरुपमा छापा मारेको उक्त उद्योगमा बिना अनुमति खाद्य पदार्थहरु प्याकिङ गरी बिक्री वितरण गर्दै आएको खुलेको छ ।
लामोसमयदेखि खाद्यान्न व्यवसाय गर्दै आइरहेका सिंहले विभिन्न ब्रान्डका नाममा अनुमतिबिना खाद्य पदार्थ प्याकिङ गर्दै उपभोक्ता ठगी गर्दै आएका छन् । उनको कम्पनीले खाद्य अनुसन्धान विभागबाट खाद्यान्न उत्पादन, प्याकिङ तथा बिक्रीको लागि कुनै पनि अनुमति लिएका छैनन् । विभिन्न ३१ वटा चर्चित खाद्य उद्योगहरुको बोरामा गुणस्तरहीन खाद्यान्न बजार पठाउँदै आएका सिंहको एकपछि अर्को अवैध धन्दा फेला परेको छ । उनले कुलेश्वरमा दर्ता गरेको कम्पनीलाई नागार्जुनमा सञ्चालन गरिरहेको अर्को धन्दासमेत भेटिएको छ ।
उनले नाम चलेका कम्पनीहरुको बोरामा कमसल गुणस्तरका चामल प्याकिङ गर्दै बजार पठाएको अनुसन्धानमा खुलेको छ । उनीहरुले चामल, पीठो, चिउरा लगायतका खाद्य सामाग्री प्याकिङका लागि सम्बन्धित कम्पनीकै बोराहरु पनि बनाउने गरेको पनि खुलेको थियो ।
एक स्थानमा उद्योग दर्ता गरेर अर्को ठाउँमा उद्योग सञ्चालन गर्दै आएका सिंहले चामलमा कनिका मिसाएर प्याकिङ गर्दै आएको पनि खुलेको छ । उनको उद्योग कुलेश्वरमा दर्ता भए पनि नागार्जुनबाट कारोबार गर्दै आएको पनि भेटिएको छ ।
खाद्य जस्तो संवेदनशील पदार्थ बिक्रीका लागि अनुमति नलिई लामोसमयदेखि गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्दै ठगी गर्दै आए पनि कारबाहीको दायरामा पर्न सकेका छैनन् । प्रहरीले छापा मार्ने क्रममा सिंहलाई पक्राउ गरेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कारबाहीको लागि पठाए थियो।
त्यसका साथै कार्यालयले अन्य २ वटा खाद्यान्न गोदाममा छापा मारेको थियो ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अनुमतिबेगर फर्म तथा कम्पनीको ब्राण्ड र ट्रेडमार्क प्रयोग गरी खाद्यान्न प्याकेजिङ गरिरहेको सूचनाका आधारमा गोदाममा छापा मारिएको हो।
ती उद्योगले विभागबाट कुनै पनि अनुमति नलिएको, उत्पादन, प्याकिङ तथा बिक्रीको अनुमति नलिएको, खाद्य सामग्री उपयुक्त तरिकाले भण्डारण नरेको पाइएको छ।
ती गोदाममा चामल, चिउरा र पिठोका बोराहरू प्याकिङ गरी बाहिर बजारमा पठाइने गरिएको थियो। तीन वटै गोदाममा शिलबन्दी गरी थप अनुसन्धान थालिएको आचार्यले बताए।

