

धनगढीबाट ३६ किलो चरेस बरामद, चालक फरार

धनगढी – धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको जनाए ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो ।
तर, चरेस बोकेको १०७२ नम्बरको एनएस पल्सर मोटरसाइकलका चालक र पछाडि सवार भने फरार भएका छन् । परिचय नखुलेका उनीहरूको खोजी भइरहेको डीएसपी बोहराले बताए ।

