जुवा र तस्करीमा मोरङ प्रहरी: एसपी हेडक्वाटर तानिएपछि ४ घुमुवा पनि अनुसन्धानको घेरामा
काठमाडाैं- जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की हेडक्वाटर तानिसकेका छन् । उनलाई तानेर त्यहाँ एसपी राजन लिम्बुको काज गरिएकाे थियाे । तर, सत्तारुढ नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताले गृहमन्त्री रमेश लेखकसँग असहमति जनाएपछि लिम्बूको सरुवा रद्द भयाे । त्यसपछि उनकाे काज रद्द गरेर त्यहाँ प्रहरी प्रमुखमा एसपी नारायण प्रसाद चिमोरियाको काज गरेर पठाइएको छ ।
यसैबीच जिल्लामा कार्यरत एक प्रहरी निरीक्षकसहित चारजना आफ्नो नियन्त्रणमा लिएर कोशी प्रदेश प्रहरी कार्यालयले छानबिन र अनुसन्धान अगाडि बढाएको छ । दसैँमा बेला मोरङमा तस्करी र जुवाजन्य गतिविधि बढेको र त्यसमा प्रहरीकै संरक्षण रहेकाे आरोपमा इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ र हवल्दार खगेन्द्र राउत तथा सहायक हवल्दार सरोज श्रेष्ठलाई कारबाहीको दायरामा ल्याइएको बताइएको छ । घुमुवा प्रहरीका रूपमा खटिँदै आएका चारै जनामाथि जुवाजन्य र तस्करीका गतिविधिको संरक्षण गरेको र जुवा खेल्ने र खेलाउनेसँग लाखौं रूपियाँ लिएको आरोप लागेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले चारजनालाई प्रदेश प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान एवम् छानबिन प्रारम्भ गरिएको बताए । उनले ती सबैमाथि अनलाइन जुवाको सेटिङ गर्ने र त्यसवापत मोटो रकम असुल गर्ने साथै तस्करीजन्य गतिविधिको पनि संरक्षण गर्ने गरेको आरोप लगेको बताए ।
हेडक्वाटर तानिएका एसपीमाथि पनि छानबिन
यता प्रहरी प्रधान कार्यालय नक्साल तानिएका एसपी भने झमेला पनि तानिएका छन् । २०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका थिए । उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ। क्रिप्टोको कारोबारीको सूचना लिएर पक्राउ नगर्ने र मुद्दा नचलाउने शर्तमा कार्कीले २२ लाख रकम बुझेको आरोप छ ।
क्रिप्टो कारोबार गर्नेसँग रकम बुझ्न उनले जिप्रकामा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराईलाई पठाएको प्रदेश प्रहरी कार्यालयले गरेको प्रारम्भिक छानबिनबाट थाहा भएको छ । छानबिनका लागी निगरानीमा राखिएका इन्स्पेक्टर भट्टराईले आफूले रकम लिएर कार्कीलाई बुझाएको ‘साबिति बयान’ दिएका छन्।
घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा समिति गठन गरिएको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले बताए ।