रेशम चौधरीको भुल
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफ्नै कमजोरीका कारण सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री गुमाउनु परेको बताएका छन् । आज आफ्नो जन्म दिनको सन्दर्भमा फेसबुक लाइभमार्फत् उनले संघीय सरकारमा सहभागी हुन समेत भुल भएको बताएका छन् ।
सत्ता साझेदार दलका संरक्षक चौधरीले नाउपालाई सरकारमा भूमिकाविहीन बनाइएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले पार्टीका केही स्वार्थी सांसदका कारण सुदूरपश्चिम प्रदेश संसदीय दल विभाजित भएको त्यही कारण मुख्यमन्त्री गुमेको बताएका हुन् । ‘धेरैले भने–सुदूरपश्चिममा तपाईंहरूले मुख्यमन्त्री लिन सक्नुपर्थ्याे, तपाईंहरूका कमजोरीका कारण पाउनु भएन । हो, हाम्रा कमजोरीका कारण हामीले थारू मुख्यमन्त्री गुमाएकै हौं । के थारू मुख्यमन्त्री बनाउन रेशम चौधरीले सांसदहरूको पिछा गरेन ? दुई भागमा पार्टीलाई विभाजन गर्ने; के रेशम र रञ्जिताको मात्रै अभिलाषा थियो ? होइन ! होइन हामी केही स्वार्थी जनप्रतिनिधिहरूले पार्टीको अभिष्टि, पार्टीको कार्यदिशा र उद्देश्यलाई बुझ्न सकेनौं,’ उनले भने ।
उनले आफ्नो निजी चाहना सरकारमा सहभागी हुने नभएको पनि स्पष्ट पारेका छन् । ‘हामीले स्वर्गद्वारी गुठीलाई न्यायोचित गरिकाले न्याय दिन सकेनौं । मुक्त कमैयालाई लालपुर्जा वितरण गर्न सकेनौं । तर के यो हामीबाट मात्रै सम्भव थियो त ? थिएन । पटक पटक राज्य सञ्चालक समक्ष मैले मेरो तर्फबाट असन्तुष्टि व्यक्त गरेकै हो । अब भूमि आयोगको अध्यक्ष माओवादीको, गुठी संस्थानको प्रशासकीय अधिकृत एमालेको, सबै प्रकारको घेराबन्दीमा परेपछि हामीले काम गर्न नसकेकै हो,’ उनले भने ।