सर्वोच्चले पुनरावलोकन नगरेको भए माओवादी नेता चौधरीबाट फेरि हुने थिएन अर्को ‘बलात्कार’!


काठमाडौं– बालिका बलात्कारको आरोप लागेका नेकपा माओवादी केन्द्रका नेता तथा अनेरास्ववियु क्रान्तिकारीमा सम्बद्ध बिष्णु चौधरी १२ बर्ष अघिको सामूहिक बलात्कार काण्डका मुख्य दोषी रहे पनि केही सजाय काटेपछि सर्वोच्च अदालतले आफ्नै फैसलामा पुनरावलोकन गरिदियो।

चौधरी घटनाको १० वर्षपछि ०७५ मा पक्राउ परी शक्ति केन्द्रका आडमा केही समय जेल बसेर छुटेका थिए। सर्वोच्चले नै जघन्य प्रकृतिको मुद्दामा पुनरावलोकन गर्दा अर्को फेरि जघन्य अपराध घट्न पुग्यो, बुधबार राती ।

बिहीबार उनी पुनः आफैंले सञ्चालन गरेको असाह्य केन्द्रकी बालिका बलात्कारको आरोपमा प्रहरी अनुसन्धानको दायरामा परेका छन्। उनको अपराधलाई सर्वोच्चले पुनरावलोकन गरेर धरौटी लिई तारेखमा छोड्न आदेश दिएको थियो।

सर्वोच्चको पुनरावलोकनले पिडक चौधरीले फैसला भएको आधा सजाय नकटाइ फेरि अपराध गरेको आरोप लागि सकेको छ। शक्ति केन्द्रको आड र माओवादी केन्द्रको बलमा उनले सर्वोच्चबाट फैसला भएको मुद्दामा पुनरावलोकन भएको हो।

१५ चैत, २०६५ मा दाङको गढवाकी १७ वर्षीया कल्पना खनालमाथि सामूहिक बलात्कार भएपछि उनको ८४ औं दिनमा उपचारका क्रममा मृत्यु भएको थियो।

आफन्तलाई भेट्न गएकी खनाल हड्तालका कारण हिँड्दै आइरहेको अवस्थामा दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा केही युवाहरुको अपहरणमा परेर बलात्कृत भइन्।

सामूहिक बलात्कार काण्डका मुख्य दोषी तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका ३१ वर्षीय चौधरीलाई सर्वोच्च अदालतबाट ३० फागुन २०७२ मा ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार जरिवाना तोकिएको थियो।

अदालतको फैसलापछि फरार भनिए पनि राजनीतिक शक्तिको आडमा खुलमखुल्ला हिँडिरहेका चौधरीलाई प्रहरीले लामो समयपछि ३ माघ २०७५ मा पक्रेको थियो। तर शक्तिकेन्द्रको आडमा चौधरीले कारागारमा ३ महिना भन्दा बढी बस्न परेन।

पक्राउ परेको तीन महिनामै चौधरी छुटेको घोराही कारागारका जेलर विष्णु प्रसाद पाण्डेले पुष्टि गरे। ‘चैत २९, २०७५ मा उहाँ छुट्नुभएको हो। सर्वोच्च अदालतको १० लाख धरौटी बापत बुझी छोड्नु आदेशअनुसार तारेखमा छुटेको हो,’ जेलर पाण्डेले भने।

चौधरी जनता विद्यापीठ बिजौरीको स्वतन्त्र विद्यार्थी युनियन उपसभापति भएको बेला बलात्कार काण्ड भएको थियो। अदालतले सजाय फैसला गरिसक्दा पनि उनले बिजौरीमा असाह्य बालबिकास नेपाल नामक संस्था दर्ता गरी सञ्चालन गरिरहेका थिए।

तत्कालीन सभामुख तथा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले २९ पुस २०७३ मा चौधरीको संस्थाको उद्घाटन गरेकी थिइन्। यहिँबाट चौधरीको राजनीतिक पहुँचको पुष्टि हुन्छ।

बलात्कार घटनामा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरिसकेको र एक जना फरार छन्। चौधरीविरुद्ध नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमण गरेको र विश्वविद्यालयको सम्पत्ति तोडफोड गरी चोरी गरेको घटना सम्बन्धमा समेत अनुसन्धान भएको थियो।

बिहीबार अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी नेता बिष्णु चौधरी विरुद्ध प्रहरीमा फेरि करणी मुद्दा दर्ता भएको छ।

तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीको ‘असहाय बाल विकास नेपाल’ का अध्यक्ष चौधरीविरुद्ध सोही अनाथालयकै एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन्।

अनाथालय सञ्चालन गर्दै आएका चौधरीविरुद्ध अनाथालयमा विगत ३ बर्षदेखि बस्दै आएकी जुम्लाकी एक १४ बर्षीया बालिकाले आफूलाई पटक–पटक बालात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए।

‘चौधरीले आफैले सञ्चालन गरेको अनाथालयकी एक बालिलाई गत चैतदेखि पटक–पटक बलात्कार गरेको भनेर पीडित बालिकाले प्रहरीमा आएर उजुरी गरेकी छिन्,’ एसपी चन्दले अनलाइनन्यूजलाई भने।

प्रहरीमा बुधबार बेलुका नै आएर ती बालिकाले आफूमाथि भएको बलात्कारबारे जानकारी दिएको र बिहीवार लिखित रुपमा जाहेरी दिएको एसपी चन्दले बताए। जाहेरीलगत्तै प्रहरी आरोपित चौधरीलाई खोज्न घरमै पुगे पनि फेला पार्न नसकिएको प्रहरीको भनाई छ।

विगत ६ महिनादेखि चौधरीले यौन शोषण गरेको बालिकाको आरोप छ। एक महिलाको सहयोगमा ती बालिका प्रहरीसम्म पुगेकी थिइन्। यसैबीच अनाथालयमा रहेका अन्य बालबालिकालाई त्यहाँबाट अन्यत्र स्थान्तरण गर्नको लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।

त्यसका लागि तुलसीपुर उपमहानगरपालिकासँग समन्वय गरि तत्काल बालबालिकालाई अन्यत्र स्थान्तरण गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहलाई आफूले निर्देशन दिइसकेको एसपी चन्दले जानकारी दिए।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका नेता चौधरी सामूहिक बलात्कार काण्डमै यसअघि ८८ दिन मात्र जेल बसी धरौटी राखेर जमानतमा छुटेका थिए।

चौधरीको गाउँ बिजौरीमा भएको उक्त सामूहिक बलात्कार काण्डमा परि जिल्लाकै साबिक गढवा गाविस र हाल गढवा गाउँपालिका–६ बढवा निवासी १७ बर्षीया कल्पना खनालको मृत्यु भएको थियो। बलात्कारपछि विछिप्त अवस्थामा पुगेकी खनालको बलात्कारमा परेको ८४ औं दिनपछि उपचारका क्रममा मृत्यु भएको आफन्तले दाबी गरेका छन्।

खनाल उक्त दिन तत्कालिन समयमा माओवादीले नै गरेको नेपाल बन्दका कारण गाडी पाउने आसमा तुलसीपुरबाट पैदल हिँडेर बिजौरीसम्म पुगेपनि बस नपाउँदा प्रतिक्षालयमै बसेको समयमा सामूहिक बलात्कारको सिकार भएकी थिइन्।

घोराहीमा अध्यनरत खनाल त्यतिबेला तुलसीपुरभन्दा पश्चिममा रहेको आन्टीको घरमा आएर पुनः घोराही फर्किन खोज्दै थिइन्।

प्रतिक्रिया