प्रहरीका जोडी एसपीः जो बने विपदका बेला जनताको सहारा !


काठमाडौं – नेपाल प्रहरीका दुई काबिल अधिकृतका रूपमा आ–आफ्नै पहिचान बनाउन सफल जोडी एसपी दिलिप घिमिरे र बसुन्धरा खड्का अहिले दुई जिल्लाका कमाण्डर छन् । घिमिरे मधेश प्रदेशको रौतहट जिल्लाको इन्चार्ज छन् भने खड्का काभ्रे । रौतहट एसपी घिमिरेको कमाण्डकै कारण प्रदेशकै उत्कृष्ट कार्यालयको रूपमा पुरस्कृत भएको छ भने काभ्रे एसपी खड्काकै संयोजनकारी भूमिकाबाट बाढीग्रस्त काभ्रेका स्थानीयहरूले उद्धार पाएका छन् ।

देशमा अघिल्लो साता दुई दिन परेको अविरल वर्षापछि २२८ जनाले ज्यान गुमाइसकेका छन् भने कैयौं घाइते र बेपत्ता छन् । बाढीबाट काभ्रे, ललितपुर, काठमाडौं, धादिङ, मकवानपुर, बारा, रौतहटमात्र नभई देशका अधिकांश क्षेत्र पहिलो एवं डुबानका कारण अस्तव्यस्त बने ।

यो बाढीले सबैभन्दा बढी मानवीय र भौतिक क्षति संघीय राजधानीसँग जोडिएको काभ्रेमा पारेको तथ्यांक सार्वजनिक भइरहेको छ । बाढीको चपेटामा परेको काभ्रेका विभिन्न स्थानमा समयमै उद्धार हुँदा भौतिक क्षतिको तुलनामा मानवीय क्षति कम भएको आंकलन गर्न सकिन्छ । काभ्रेका मुख्य सडक र ग्रामीण सडक सञ्जाल ध्वस्त भएको परिवेशमा पनि जिल्लाको नेतृत्व गरेको एक प्रहरी अधिकृतको सफल कमाण्डले कसरी आम जनतालाई उद्धार गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन्, काभ्रे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का ।

जिल्लाका रोशि, तेमाल, चौंरीदेउराली, भुम्लुलगायतका स्थानबाट सयौं जनाको उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्काले जनाइन् ।

प्रमुख जिल्ला अधिकारी २ महिनादेखि बिदामा रहेको अवस्थामा जिल्लाबासीमा परेको प्राकृतिक विपत्तिको उद्धार कार्यको कमाण्ड गरिरहेकी एसपी खड्काले घाइतेहरुको अवस्था हेरि उद्धार गरिएको थियो ।

खड्काको कमाण्डमा काभ्रेमा नेपाली सेनाको हेलिकोप्टरबाट प्राथमिकताका आधारमा स्थानीयको उद्धार गरिएको थियो । वृद्ध, बालबालिका, सुत्केरी तथा बिरामीहरुलाई पहिलो प्राथमिकता दिई उद्धार गरिएको एसपी खड्काले जनाइन् । उनको कमाण्डमा उद्धार कार्यमा खटिएको प्रहरी एवं अन्य सुरक्षा निकायले विवादरहित तरिकारले उद्धार गरेको भन्दै स्थानीय एवं काभ्रेका राजनीतिक दलहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

उद्धार कार्यको संयोजन गरिरहेकी खड्का अहिले आफैं फिल्डमा खटिएर आवश्यक व्यवस्थापन गर्नुका साथै निर्देशन दिइरहेकी छिन् ।

त्यस्तै बीपीराजमार्गस्थित नेपालथोक नजिकै सुनकोशीले सडकले बगाएको छ । त्यसबाट बीपीराजमार्ग हुँदै राजधानी भित्रँदै गरेका ३ हजार भन्दा बढी यात्रु अलपत्र परेको पनि एसपी खड्काले जनाइन् । उनले अलपत्र परेका यात्रुहरुलाई पनि प्राथमिकताका आधारमा गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाएकी छिन् । उनकै संयोजनमा अवरुद्ध बीपी राजमार्गको धुलिखेल–भकुण्डेबेसी खण्डका वर्षा रोकिएको केही घन्टामै खोलिएको थियो ।

विद्युत् र दूरसञ्चार सेवाको प्रतिकूलकताका बाबजुद एसपी खड्काले गरेको संयोजनकारी भूमिकाले काभ्रेका दुर्गम क्षेत्रमा रहेका स्थानीयले राहत महसुस गरेका थिए ।

खड्का नेपाल प्रहरी संगठनकै काबिल अफिसरको रुपमा परिचित छिन् । संयुक्त राष्ट्र संघको उच्च तहमा पुग्ने अधिकृत समेत रहेकी खड्का काभ्रे प्रहरीको कमाण्ड सम्हाल्नासाथ तस्करहरुको जालो च्यात्न सफल भएकी थिइन् ।

त्यस्तै बाढीग्रस्त जिल्ला रौतहट प्रहरीको कमाण्ड गरिरहेका खड्काकै श्रीमान् एवं संगठनका विवादरहित र काबिल एसपी दिलीप घिमिरेको सफल कमाण्डका कारण रौतहटमा भने ठूलो मानवीय क्षति भने हुन पाएन । २ जनाको ज्यान गएको उक्त बाढीबाट डुबेका हजारौं परिवारलाई सुरक्षित स्थानसम्म लैजानका लागि एसपी घिमिरे आफैं खटिएका थिए । जिल्लामा लालबकैंया र बागमती नदी किनारका अधिकांश वस्ती डुबेका थिए ।

अघिल्लो सातामात्र एसपी घिमिरेकै कमाण्डमा रहेको जिल्ला प्रहरी कार्यालय प्रदेशकै उत्कृष्ट कार्यालय ठहरिएको थियो ।

भौतिक पूर्वाधारलगायत विभिन्न पक्षको विश्लेषणको आधारमा मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले जिल्ला प्रहरी कार्यालय रौतहटलाई उत्कृष्ट घोषणा गर्नुको साथै प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई नगदसहित पुरस्कृत गरेका थिए ।

डीआईजी आचार्यले फरार अपराधी पक्राउ, प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन, हिरासत कक्षको निरीक्षण, सवारी दुर्घटना न्यूनीकरणमा र भौतिक पूर्वाधारसँगै विविध पक्षलाई मुल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई उत्कृष्ट घोषणा गरिएको उक्त अवसरमा जनाएका थिए ।

त्यसैगरी एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरी टोलीले हत्या गरी फरार भएका व्यक्तिलाई तत्काल पक्राउ गर्न सफल भएको, ईशनाथ नगरपालिकामा हिन्दु मुस्लिमबीच हुने सक्ने सम्भावित दङ्गालाई रोक्ने काममा खेलेको भूमिका, महावीर झन्डा मेलामा विवादरहित सम्पन्न गर्न उल्लेखनीय भूमिका खेलेको र तस्करी नियन्त्रण गरी जिल्लाको शान्ति सुरक्षा कायम गरेकोले पुरस्कृत गरिएको बताइएको छ ।

त्यसका साथै एसपी घिमिरेले पछिल्लो समय जिल्लाको खुल्ला नाकाबाट हुने अवैध तस्करीको जालो च्यात्न सफल भएका छन् । संगठनमा ईमानदार प्रहरीको रूपमा आफूलाई उभ्याऊन सफल एसपी घिमिरे जागिर अवधिभर विवादरहित र संगठनका लागि उत्कृष्ट काम गर्ने अधिकृतका रूपमा परिचित छन् ।

नेपाली प्रहरी संगठनमा कार्यरत रहेका यी दुई प्रहरी अधिकृत कतिपयका लागि प्रेरणाका स्रोत बनेका छन् भने संगठनले पनि एउटै घरबाट उत्कृष्ट दुई उच्च अधिकृत पाएका छन् ।  २०५८ सालमा इन्स्पेक्टरबाट नेपाल प्रहरी संगठनमा प्रवेश गरेका श्रीमान् घिमिरे र २०६१ सालमा इन्सपेक्टर भएकी खड्काको कार्य यतिबेला संगठन भित्र र कार्यक्षेत्रमा प्रशंसित छ ।

प्रतिक्रिया