दुबईबाट तीन फरार प्रतिवादी पक्राउ


काठमाडौँ – नेपाल प्रहरीको टोलीले ठगीसम्बन्धी कसुर र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया भूपेन्द्र बोहरा र काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कवीर बुढाथोकी तथा जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन फरार व्यक्तिलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ दुबईमा पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ ।” पक्राउ परेकामध्ये भूपेन्द्रलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट विसं २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।

यसैगरी काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट विसं २०७० साउन २४ गते कवीर बुढाथोकी र गएको असार १२ गते रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता कार्कीले बताए । भूपेन्द्रलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोमा तथा कवीर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया