ठमेलमा बिहानै युवतीमाथि ‘लेडी ग्याङ’को हमला [भिडियो]


काठमाडाैं- कहिले नसुत्ने काठमाडौंको ठमेल क्षेत्रमा बेलाबेला विभिन्न लफडा मच्चिरहेको हुन्छन् । विभिन्न नाइट क्लबमा हुने लफडादेखि त्यहाँ हुने अवैध यौन व्यवसायले सञ्चारमाध्यममा स्थान पाइरहेकै हुन्छ ।

यसैबीच आज बिहीबार बिहानै ठमेल क्षेत्रमा दुई युवतीको समूहबीच झगडा भएको भिडियो कागजपत्रले पाएको छ । मदिराको नशामा मात्तिएका जस्ता देखिने युवतीहरुले एक-अर्कालाई हानेको देखि कपाल लुछालुछ गरिएको भिडियोमा देख्न सकिन्छ ।

बिहीबार बिहान साढे ४ बजेतिर भएको उनीहरुबीचको विवादको जड भने थाहा हुन सकेको छैन । तर त्यहाँ भएकी कालो गाउन लगाएकी एक युवतीलाई अर्को समूहका युवतीहरुले बारम्बार कुटेको प्रत्यक्षदर्शीले बताएका छन् । उनका अनुसार ती युवतीमाथि कुटपिट भइरहँदा त्यहाँ उपस्थित केही व्यक्तिले बचाउने प्रयास गरेका थिए ।

उक्त क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएको महानगरिय प्रहरी वृत्त स्रोहखुट्टे भने उक्त विषयमा अनभिज्ञ छ । प्रहरीले घटनाबारे कुनै जानकारी नआएको बताएको छ । प्रहरीले उक्त क्षेत्रको सुरक्षामा कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै त्यहाँ २४सैं घण्टा सुरक्षाकर्मीहरुको उपस्थिती रहने दाबी गरेको छ ।

तर, प्रहरीले दाबी गरेजस्ताे भने त्यहाँ सुरक्षाा व्यवस्था कडा नहुने गरेकाे छ । त्यहाँका क्लबमा १८ वर्ष मुनीका युवायुवतीको भीड लाग्ने गरेको पाइएकाे छ ।

‘अन्डरएज’का केटाकेटीलाई सजिलै इन्ट्री

पूर्व गृहमन्त्री रवि लामिछानेले गत वर्ष ठमेल र दरबारमार्ग पूर्णकालीन समय खुलाउने घोषणा गरेका थिए  । त्यसपछि ठमेल र दरबारमार्गका बजार २४सै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मापदण्ड, आचारसंहिता र सुरक्षा योजना जारी गरेको थियाे ।

उक्त मापदण्ड अनुसार त्यहाँका क्लब तथा बारमा १८ वर्षमुनीका किशोरकिशोरीलाई प्रवेश नदिनुपर्ने हो । तर,  धेरैजसो १८ वर्षमुनिका केटाकेटीहरू ठमेलकाे फायर क्लबलगायतमा भेटिन्छन् । अधिकांश क्लब र पबहरूले उमेर या परिचयपत्र जाँच नगरिकनै गेस्टलाई भित्र छिराउने गरेका छन् । भित्र उनीहरू रक्सी पिएर नाचीरहेका हुन्छन् ।

तर सुरक्षाकाे जिम्मेवारी पाएकाे प्रहरीले दिउँसो केही क्लबहरूमा अनुगमन गरे पनि रातमा सञ्चालन हुने डिस्कोहरूलाई भने खुल्ला छोडिदिएको पाइने गरेकाे छ । उनीहरू क्लब र डिस्को बाहिर मात्र ड्युटी गर्ने गरेकाे ठमेलका एक व्यापारीले बताए ।

प्रहरीको कमजोरीकै कारण १८ वर्ष मुनीका किशोरकिशोरी र बालिग युवायुवतीको रमिता त्यहाँ दैनिकजसो देख्न सकिन्छ ।

त्यहाँका रेस्टुरेन्ट, डान्स, दोहोरी, क्लब, मसाज, स्पा र खाजाघरका रूपमा सञ्चालित लगायतमा प्रायः रातको बेला यौनधन्दा पनि मौलाएको पाइन्छ । बालबालिकाको प्रवेश निषेध हुनुपर्ने त्यहाँ बालबालिकाकै चरम दुरुपयोग भइरहेको छ ।

गत वर्ष असारमा ठमेलस्थित ओम्निया क्लबमा ग्याङसहित छिरेर ब्याउन्सर र कर्मचारीलाई कुटपिट गर्ने गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका थिए ।

 

प्रतिक्रिया