६ महिनाअघि नरेशसँग डिभोर्स गर्न चाहन्थिन् ममता


काठमाडौं– अमेरिकाको मानसास पार्कबाट बेपत्ता भएकी २८ वर्षीया नर्स ममता काफ्लेको हत्या आरोपमा उनका पती नरेश भट्ट पक्राउ परिसकेका छन् । युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा बालरोग नर्सको रूपमा कार्यरत ममताको हत्या उनकै श्रीमानले गरेको प्रहरीले अदालतमा बताइसकेको छ ।

नरेशले श्रीमतीको हत्या गरेको र उनको शवलाई मानसस पार्कमा रहेको आफ्नो घरबाट घिसारेर बाहिर निकालेको आरोप प्रहरीले लगाएको छ । ममताको शव फेला नपरेको कारण अहिले नरेशविरुद्ध मृत शरीर लुकाएको सम्बन्धमा छैटौं श्रेणीको आपराधिक आरोप लगाइएको छ ।

कार्पेटमा रगतको दाग देखिएको, वाथटबमा रगत बगेको, भट्टले वालमार्टबाट फरक साइजका तीनवटा चक्कु किनेर ल्याएको लगायतका प्रमाणहरु प्रहरीले अदालतमा बुझाइसकेको छ ।

५ वर्षअघि २०७७ मंसिर २५ मा बिहे गरेका दुवै पती–पत्नीबीचको सम्बन्धमा केहीसमय पहिलेदेखि नै चिसोपना आइसकेको विभिन्न आधारहरु फेला परिरहेका छन् । सोही कारण ममता बेपत्ता हुनुमा नरेशको हात रहेको आशंका त्यहाँको प्रहरीले गरिरहेको छ ।

यसैबीच ६ महिनाअघि फेब्रुअरी ८ (माघ २५) मा ममताले एक फेसबुक ग्रुपमा नरेशसँग अलग्गिन लागेको संकेत दिँदै पोष्ट गरेको खुलेको छ । ‘सेपरेट, डिर्भोस्ड सिंगल मम्स् अफ भर्जिनिया, मरल्यान्ड एन्ड डिसी’ नामक गोप्य ग्रुपमा उनले आफू अलग्गिन खोजिरहेको र आफ्नो छोरीलाई केहीदिन आफूसँग र केही दिन पतीसँग राख्न चाहेको उल्लेख गर्दै पोष्ट गरेकी थिइन् । तर, पतीले आफ्नो प्रस्ताव नमानिरहेको उनले लेखेकी छिन् ।

यस्तै सोही ग्रुपमा फेब्रुअरी १६ (फागुन ४) मा उनले आफू हप्तामा २ दिन काममा जाने भएकाले पतीले ६ महिनाको छोरी हेरचाहमा सहयोग नगरेको कुरा बताएकी छिन् । उनले श्रीमानसँग छुट्टिन खोजीरहेको उल्लेख गर्दै छोरीका लागि हेरचाह कसरी गर्नेबारे सुझाव मागेकी छिन् ।

नरेशसँग बिहे गरेको ८ महिनापछि २०७८ साल साउन १० गते ममता पनि अमेरिका गएकी थिइन् । उनी त्यहाँ पुगेर नर्सिङ पेशमा कार्यरत थिइन् । गतवर्ष भदौ ५ मा ममता आमा बनिन् । घरमा छोरी जन्मेपछि उनको हेरचाहका लागि माइतीपक्षबाट ममताकी आमा अमेरिका जान चाहेकी थिइन् ।

तर, केही कारण उनी जान नसकेपछि उनका आमाबुवा अमेरिका पुगेका थिए । त्यतिबेलादेखि नै दुवै दम्पतिबीच दरार आएको उनका आफन्त बताउँछन् । ममता र नरेशकी आमाबीच खटपट हुँदा ममता केही दिन अलग्गैसमेत बसेकी थिइन् । त्योबेला आफूहरुको सम्बन्धमा खटपट आएको भनेर नरेशले आफ्ना साथीसँग कुरा पनि गरेका थिए ।

सोही समयमा ‘डिप्रेशन’मा पनि गएको भन्दै उनले एक साथीलाई सेयर गरेकी थिइन् । करिब ८ महिनाअघि उनले काम पनि छाडेको उल्लेख गर्दै योगा र मेडिटेसन गरेर निको भएको महसुस गरेर पुनः जागिरमा फर्केको भन्दै एक साथीलाई भिडियोमार्फत जानकारी गराएकी थिइन् । उनले श्रीमानसँग सम्बन्ध नराम्रो भएकोमा पछि पुनः सम्बन्धमा सुधार आएकोसमेत बताएकी थिइन् ।

हिरासतमा रहेका नरेशले अहिलेसम्म अपराध स्वीकार गरेका छैनन् । सोमबार उनलाई मनसासस्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । नरेशका वकिलहरुले उनीविरुद्ध ठोस प्रमाण नभएको र कुनै अपराधिक पृष्ठभूमि नरहेकाले धरौटीमा छोडन अपिल गरेका थिए । तर, सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । अर्को सुनवाइ २४ अक्टोबरमा तोकिएको छ ।

अमेरिका पुगिन् ममताकी आमा
ममता काफ्ले बेपत्ता भएपछि उनकी आमा र भाइ अमेरिका पुगेका छन् । नेपालबाट आपतकालीन भिषामा अमेरिका पुगेका उनीहरुले ममताकी एक वर्षीया छोरीलाई भेटेका छन् ।

बेपत्ता ममताकी छोरीको भरणपोषणका लागि ‘गोफन्डमी’मा सहयोग अभियान थालिएको छ । मनसास पार्क निवासी सरिता न्यौपानेले सुरु गरेको अभियानमा हालसम्म ३ करोड ८ लाख नेपाली रुपैयाँ भन्दा बढी उठिसकेको छ ।

२ लाख ५० हजार अमेरिकी डलर सहयोग जुटाउने लक्ष्य लिएकोमा २ लाख ३० हजार अमेरिकी डलर जम्मा भएको हो ।

 

प्रतिक्रिया