दिल्लीमा ‘फेक भिसा र्‍याकेट’, नेपालका सुनील थापा पक्राउ


नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा ‘फेक भिसा र्‍याकेट’ चलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । विदेशमा  राम्रो जीवनशैलीको आशा देखाएर मानिसलाई लोभ्याउँदै आएका सुनील थापा पक्राउ परेकाे दिल्ली प्रहरीले जनाएकाे छ । २८ वर्षीय राज पनि भनिने सुनीलको घर नेपालको बुटवल भएको बताइएको छ ।

सविना गुरुङ नामकी महिला भारतीय पासपोर्ट प्रयोग गरेर हङकङबाट यही अगस्ट ५ मा दिल्ली आइपुगेकी थिइन् । उनको कागजात जाँच गर्दा यात्रु नेपाली भएको पाइएको थियो । उनको भारतीय पासपोर्ट ठगी गरी प्राप्त गरिएको थियो । त्यससम्बन्धी एफआईआर दर्ता गरिएको प्रहरीले जनाएको छ ।

२७ वर्षीया सविना नेपालको लमजुङकी भएको अनुसन्धानका क्रममा पत्ता लागेको छ । उनले आफूलाई नेपाली पासपोर्टमा विदेश जान अप्ठ्यारो हुन्छ भनिएको बताएकी छन् । सोही कारण भारतीय पासपोर्ट लिएको उनको भनाइ छ ।

नक्कली कागजातका आधारमा एक आफन्तले सन् २०१८ मा त्यो पासपोर्ट बनाइदिएको उनले बताएकी छन् । पछि उनले सुनीललाई भेटेको र उनैले हङकङको भिसा मिलाइदिएको उनले उल्लेख गरेकी छन् ।

 

 

 

प्रतिक्रिया