राजनीतिमा आउने घोषणा गर्दै शेख हसिनाका छोरा भन्छन्– म पछि हट्ने छैन


ढाका– बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना केही साताको हिंसात्मक प्रदर्शनपछि सोमबार ५ अगस्टमा पदबाट राजीनामा दिएर देश छाडेर भारत आएकी थिइन् । त्यसपछि उनको पार्टी अवामी लिगका नेताहरूमाथि आक्रमण भइरहेको छ । जसमा कयौं मारिएका छन् ।

यसैबीच हसिनाका छोरा साजिब वाजेद जोयले राजनीतिमा आउन तयार रहेको बताएका छन् । यसअघि जोयले आफू राजनीतिमा आउने मनसाय नभएको बताएका थिए । वासिङ्टन डिसीमा बस्ने जोयले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने, ‘पार्टी र कार्यकर्तालाई बचाउन जे पनि हुन्छ । म गर्नेछु । राजनीतिमा आउनु पर्यो भने पछि हट्ने छैन ।’

वाजेदले थपे, ‘मेरी आमाले वर्तमान कार्यकालपछि राजनीतिबाट सन्यास लिनुहुन्थ्या । मेरो कुनै राजनीतिक महत्वाकांक्षा थिएन । म अमेरिकामा बसेको थिएँ, तर पछिल्ला केही दिनमा बंगलादेशको घटनाक्रमले नेतृत्वमा शून्यता देखाउँछ । पार्टीका लागि सक्रिय हुनैपर्छ र अहिले अग्रस्थानमा उभिएको छु ।’

बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको दिन वाजेदको उक्त बयान आएको हो । यसैबीच, अवामी लिगका प्रमुख प्रतिद्वन्द्वी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की नेतृ खालिदा जिया रिहा भएपछि उनका छोरा तथा पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान ढाका फर्किएका छन् ।

‘अवामी लिगले जित्न सक्छ चुनाव’
सजीब वाजेद जोयले अवामी लिग चुनावमा सहभागी हुने र जित्न सक्छौँ भन्नेमा विश्वस्त रहेको बताएका छन् । ‘हामीसँग बंगलादेशमा सबैभन्दा ठूलो समर्थक आधार छ’ उनले भने ।

उनले आफ्नी आमाको कुनै पनि देशमा शरण लिने योजना नभएको दाबी गरे । जोयले भने, ‘उनी अहिले भारतमै छन् । अन्तरिम सरकारले देशमा चुनाव गराउने निर्णय गरेपछि उनी बंगलादेश फर्किनेछन् । ‘यति छोटो समयमा मेरी आमाको ज्यान बचाउनु भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभारी छु’ उनले भने ।

 

प्रतिक्रिया