महिला एसिया कप: नेपालका लागि सम्झनाको ऐतिहासिक अर्धशतक


काठमाडौं – महिला एसिया कप क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा युएईविरूद्ध खेलिरहेको नेपालका लागि ओपनर सम्झना खड्काले ऐतिहासिक अर्धशतकीय पारी खेलेकी छिन्।

उनी ३५ बलमा ५० रनमा अविजित रहँदै क्रिजमा छिन्। महिला एसिया कपमा नेपाली खेलाडीले बनाएको यो पहिलो ऐतिहासिक अर्धशतक हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १६ रनको लक्ष्य नेपाललाई दिएको छ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ताजा अवस्थामा १२.५ ओभरमा ३ विकेट गुमाउँदै ८६ रनमा रहेको छ।

महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ।

यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो।

एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन्।

प्रतिक्रिया