

सडकपेटीमा सुतिरहेका व्यक्तिको टाउकोमा ढुंगाले हिर्काएर हत्या

काठमाडौं – काठमाडौंको कलंकीमा सडक पेटीमा सुतिरहेको एक व्यक्तिको ढुंगाले हिर्काएर हत्या भएको छ।
आइतबार बिहान करिब ३ बजे काठमाडौं महानगरपालिका(१४ कलंकी थापागाउँस्थित सडक पेटीमा सुतिरहेको अवस्थामा ढुंगाले हिर्काएर एक व्यक्तिको हत्या गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिए।
मृत्यु हुनेमा कलंकीको थापा गाउँ सडकपेटी बस्ने ५५ वर्षीय चौधरी भन्ने रहेका छन् । उनको अरू पहिचान खुलिनसकेको एसएसपी सिंहले बताए।
प्रहरीले उनको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका घर बताउने २१ वर्षीय दिनेश थापा छन्।
‘उनीहरू दुबै सडकपेटीमै बस्नेहरू हुन्। पहिले उनीहरूबिच झगडा परेको रहेछ। आज ढुङ्गाले हिर्काएर हत्या गरेछ’, एसएसपी सिंहले भने। ढुंगाले हिर्काएपछि घाइते भएका चौधरीलाई कलंकीको सहिद अस्पताल पुर्याइएको थियो। तर उनको साढे ३ बजेको समयमा मृत्यु भएको हो।
घटनास्थलमा महानगरीय प्रहरी वृत्त कालिमाटी, महानगरीय अपराध महाशाखाको टोली खटिएर दिनेशलाई पक्राउ गरेको हो। दिनेशलाई प्रहरीले बिहान १० बजे कलंकी, ढुङ्गेअडडाबाट पक्राउ गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

