बालेनलाई कारबाही गर्दै नागरिक उड्डयन प्राधिकरण


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकणले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई कारबाही गर्ने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको का.म.न.पा. वडा नं. ९ को सिट नंं १०२–११४७–१५, कि नं. ३० मा निर्मित संरचनालाई महानगरले हस्तक्षेप गरेपछि प्राधिकरणले मेयर बालेनलाई जरिवानासहित कारबाही गर्ने तयारी गरेको हो ।

प्राधिकरणको जग्गामा महानगरपालिकाले जेष्ठ नागरिक तथा बालबालिका उद्यान (बगैंचा) निर्माण गर्ने प्रयोजनका लागि २०७९/१२/०१ मा अनुमति मागे पनि २०७९/१२/१४ मा सहमति उपलब्ध नगराए जानकारी गराए तापनि महानगरले २०८०/०२/३२ मा नगर प्रहरीको प्रयोग गर्दै फेन्सिङ तारबार काट्न लागेपछि महानगर र प्राधिकरणबीच दूरी बढेको थियो । महानगरको उक्त कदमविरुद्ध प्राधिकरणले २०८०/२/३२ मै लिखित जवाफ माग गरेपछि उक्त विवाद अदालतसम्म पुगेको थियो ।

महानगरको उक्त कदमपछि प्राधिकरणले मेयर बालेनलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न पत्राचार भए पनि मेयर बालेन उक्त निर्णयविरुद्ध आफैं उच्च अदालत गएका थिए । उच्च अदालतले २०८०/०५/०६ गते मेयर बालेनको दाबी नपुग्ने र प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण पेश नगरे कारबाही हुने जनाउँदै बालेनको रिट  खारेज गरेको थियो ।

उक्त रिट खारेज भएसँगै प्राधिकरणले बालेनलाई सोधेको लिखित स्पष्टीकरणको जवाफ पेश गर्नुपर्ने भएको जनाउँदै सोही आदेशका आधारमा बालेनलाई ५०,०००।– (पचास हजार रुपैयाँ) जरिवाना गराउने तयारी प्राधिकरणले गरेको छ । नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम उक्त कसुरका व्यक्तिलाई रु ५००००।– हजारसम्मको जरिवाना हुनेछ ।

 

प्रतिक्रिया