नलिनचोक हेलिपोर्टबाट उडान सुरु


काठमाडाैं- भक्तपुरको नलिनचोकमा सञ्चालनमा आएको होलिपोर्टबाट उडान सुरु भएको छ । असार ७ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हेलिपोर्टको उद्घाटन गरेका थिए । तर, हेलिकप्टर पाइलहरुले केही समस्या भएको भन्दै हेलिपोर्टमा उडान नगर्ने बताएका थिए । आज(शुक्रबार)बाट भने उक्त हेलिपोर्टबाट उडान तथा अवतरण सुरु भएको छ । आज माउन्टेन हेलिकप्टरर्स कम्पनीको होलिकप्टरले पहिलो उडान गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार केही पाइलटहरुले विभिन्न समस्या राख्दै उडान नगर्ने बताएका थिए । तर, क्यानले उनीहरुको समस्याबारे छलफल गर्न बोलाएपछि आजबाट उडान सुरु भएको छ ।

‘हामीले त्यहाँबाट फ्लाइट रोक्ने निर्णय गरेका थिएनौं । पाइलटहरु आफै दुई समूहमा विभाजन भएर उडान गर्ने÷नगर्ने भनिरहेका थिए’ उनले भने, ‘हामीले समस्याहरुको बारेमा जानकारी दिन भनेका थियौं । त्यसपछि उहाँहरुलाई बैठकमा बोलाएर तत्काल समाधान हुने समस्या समाधान गर्ने र अन्य समस्या बिस्तारै समाधान गर्ने भन्नेमा उहाँहरु सहमत भए ।’

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्नुपर्ने भएकाले काठमाडौंमा त्यसको विकल्प नलिनचोक मात्रै भएकाले त्यहाँबाटै उडान गर्ने कार्य सुरु भएको हो । यस्तै त्रिभुवन विमानस्थलको हवाई चाप कम गर्ने उद्देश्यसहित नलिनचोकमा होलिपोर्ट निर्माण गरिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले टिआइए गुरुयोजनाअन्तर्गत ३३ रोपनी क्षेत्रफलमा १२ करोड लगानी गरेर हेलिपोर्ट सञ्चालनमा ल्याएको थियो । नलिनचोकमा १३ वटा हेलिकोप्टर पार्किङ गर्न मिल्ने र एकैपटक चारवटा हेलिकोप्टर उडान–अवतरण गर्न मिल्ने क्षमता रहेको छ  ।

हेलिपोर्ट सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने क्यानको अपेक्षा छ ।

प्रतिक्रिया