नागरिक उड्डयन प्राधिकरणविरुद्ध हवाई माफिया


काठमाडौं – नेपालका हवाईमाफिया नागरिक उड्डयन प्राधिकरणलाई असफल बनाउन संगठित रुपमै लागिरहेको पाइएको छ । पछिल्लो पटक हवाईमाफियाले प्राधिकरणको कार्यालयमा अख्तियार दुरुयपोग अनुसन्धान आयोगद्वारा छापा हानेको ‘भ्रमपूर्ण’ समाचार प्रकाशित गराएपछि सो कुरा पुष्टि भएको हो ।

केही महिनादेखि नै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउनका लागि संगठित रुपमै हवाईमाफिया लागिरहेका छन् । हवाईमाफियाले संसदमा समेत आवाज उठाउनका लागि केही सांसदहरुलाई प्रयोग गरेका थिए । केही सांसदहरुले अधिकारीविरुद्ध संसदमै खुलेआम आवाज उठाएका थिए ।

महानिर्देशक अधिकारीविरुद्ध अफवाहपूर्ण समाचारहरु प्रकाशन गर्न लगाएर हवाईमाफियाले नेपालको हवाई क्षेत्रलाई थप बदनाम गराउन लागिरहेका छन् । अधिकारीलाई हटाउनका लागि माफियाले विभिन्न स्रोत, साधनका साथै निकायलाई पनि प्रयोग गर्दै आएको स्रोतको दाबी छ ।

पछिल्लो समय मुलुकमा बाढीका कारण सडक सञ्जाल ध्वस्त भएको अवस्थामा प्राधिकरणले त्रिभुवन विमानस्थलबाट इतिहासकै सबैभन्दा धेरै उडान गराउन सफल भएको थियो । सडक यातायात नभएको अवस्थामा हवाई उडानमार्फत् आम जनतालाई सेवा दिनका लागि महानिर्देशक अधिकारीले अहम् भूमिका खेलेका थिए ।

विमानस्थलबाट ऐतिहासिक रुपमा धेरै उडान भइरहेका बेला माफियाले आफू निकट सञ्चारमाध्यमको दुरुपयोग गरि ‘प्राधिकरणको कार्यालयमा अख्तियारको छापा’ शीर्षकमा समाचार छपाउनु महानिर्देशक अधिकारी मात्र नभई प्राधिकरणविरुद्ध नै लागिरहेको स्पष्ट हुन्छ । सञ्चारमाध्यममा आएको समाचारप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताले खण्डन गरिसकेको अवस्थामा प्राधिकरणको बदनाम गराउनका लागि हवाई माफिया लागिरहेका छन् । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले प्राधिकरणमा छापा मारेको जानकारी नभएको जनाएका थिए ।

नेपालको हवाई क्षेत्रको जिम्मेवारी लिएर बसेको एउटा निकायको विरुद्धमा समाचार छपाउने, सांसदहरुलाई बोल्न लगाउने, अफवाह फैलाउने जस्ता कार्य गरिरहेका हवाईमाफियाविरुद्ध बेलैमा सचेत हुनुपर्ने भएको छ ।

प्रतिक्रिया