
त्रिशुलीमा खसेको ८ घण्टासम्म पनि भेटिएन यात्रुसहितका बस
काठमाडाैं- मुग्लिन- नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो ।
पहिरोले २ वटा गाडी त्रिशुलीमा बगाउँदा यात्रुसहितका २ वटा गाडी बेपत्ता भएका छन् । सिमलतालमा खसेको पहिरोले बगाएकोमध्ये एन्जल डिलक्समा २४ जना रहको खुलेको छ । यस्तै गणपति डिलक्समा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।
त्रिशुलीमा खसेकाे यात्रुसहितकाे बसमा सवार बेपत्ता यात्रुको खोजी सुरु भएको धेरै समय भइसकेकाे छ । उनीहरूकाे खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो । तर बसलाई पहिराेले लगेकाे ८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि कुनै सफलता पाइएकाे छैन । यसअघि ७ जना गोताखोर मात्रै परिचालन गरिएकोमा अहिले थप गोताखोर परिचालन गरिएको छ ।
काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । बाँच्न सफल भएका तीजना यात्रुको बयानको आधारमा उक्त स्थानमा खोजी कार्य भइरहेको हो ।



कागजपत्र |
