भर्ना हुँदै जन्ममितिमा विवादीत एआईजी ढकाल प्रहरीभित्र गुटबन्दी गर्दै


काठमाडौं -नेपाल प्रहरीको मानवस्रोत विभागमा कार्यरत एआईजी भीमप्रसाद ढकाल पछिल्लो समय प्रहरीभित्र गुटबन्दी गर्न सक्रिय छन् । आफ्नो स्वार्थ पुर्तिका लागि उनी गुटबन्दीमा सक्रिय भएका हुन् ।

पछिल्लो समय गृहमन्त्री रवि लामिछानेले आईजीपी वसन्त कुवँरलाई पदबाट हटाउन खोजेको चर्चापछि एआईजी ढकाल राजनीतिक भेटघाटमा सक्रिय भएका थिए ।

लामिछानेले सीआइबीमा कार्यरत एआईजी श्यामप्रसाद ज्ञवालीलाई आईजीपी बनाउन चाहेका थिए ।

सोही कुरा बुझेका ढकाल श्याम ज्ञवालीलाई आइजीपी बनाउन र ३० वर्षे सेवा अवधी हटाउन सक्रिय थिए ।

ज्ञवाली आईजीपी बन्दा आफुलाई लाभ लिन सहज हुने अनुमान गरेर ढकाल सक्रिय भएका थिए । स्रोतका अनुसार पछिल्लो समय उनी गृहमन्त्री लामिछानेसँग पनि नजिकिएका थिए ।

गत शुक्रबार मात्रै उनी राति ९ बजेर १० मिनेटपछि बाल्कोटमा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पुगेका थिए । तर उनले भेट गर्न समय नै पाएनन् ।

यसबाहेक उनी गतसाता बिरामी भएर नेपाल प्रहरीको अस्पताल भर्ना थिए । तर भर्ना भएकै बेला बेलाबेला बाहिर निस्केर विभिन्न राजनीतिक भेटघाटमा ब्यस्त थिए ।

उनले प्रहरीभित्र आफु एमाले अध्यक्ष केपी ओलीको निकट भएको बताउँदै आएका छन् ।

प्रहरीको मानवस्रोत विभागमा बसेर सरुवा बढुवामा पनि उनले अनावश्यक चासो दिएको र चलखेल गरेको आरोप ढकालमाथि प्रहरीकै उच्च अधिकारीहरु लगाउँछन् ।

तर प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीका आईजीपी वसन्त कुवँरलाई हटाउने योजना नभएको बताएपछि एआईजी ढकाल युर्टन भएको बताइएको छ ।

पछिल्लो समय फेरि ढकालले ज्ञवालीको लाइन छाडेर आईजीपीकै लाइनमा लागेको बताइन्छ । प्रहरीका विभिन्न कार्यालयको कमाण्ड गर्दा एआईजी ढकाल बेलाबेला विवादमा समेत मुछिएका छन् ।

पछिल्लो समय प्रहरीमा राजनीति मौलाउँदै गएको छ । जसको असर चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा बलियो रुपमा पर्दै गएको छ ।

शक्तिकेन्द्रको नाम भजाएर आफुलाई शक्तिशाली देखाउने प्रहरी अधिकारीको प्रवृत्तीले संगठनमा इमान्दार अधिकृतको मनोबल समेत कमजोर हुँदै गएको पूर्व आईजीपीहरु बताउँछन् ।

यसले प्रहरीको व्यावसायिकतामा संकट पर्दै गएको अधिकारीहरु बताउँछन् ।

त्यसो त एआईजी ढकाल प्रहरीमा भर्ना हुँदा नै विवादीत थिए । उनको जन्ममितिमा गडबड देखिन्छ ।

जन्ममिति प्रकरणमै प्रहरीका डीआईजी अशोक सिंहले पदबाट राजीनामा दिएका थिए । तर ढकाल भने पदमै छन् ।

यस्तो छ एआईजी ढकालको शंकास्पद जन्ममिति

भीमप्रसाद ढकालको जन्ममिति विवरण पनि ‘शंकास्पद’ देखिएको छ । ढकालको प्रहरी सेवामा प्रवेश गर्दाको समयदेखिकै विवरण समस्याग्रस्त देखिएको हो ।

उनीहरूको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक छ ।

ढकालकै ब्याचमा इन्स्पेक्टर भएका वसन्तबहादुर कुवँर, टेकप्रसाई राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण ब्रजाचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, टेकबहादुर तामाङ, मिरा चौधरी, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, वुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण हुन् ।

यी सबैले २०५० साल मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा प्रकाशित भएको सूचनाका आधारमा निवेदन दिएका थिए ।

ढकालकै ब्याची वसन्तबहादुर कुवँर हाल नेपाल प्रहरीका आईजीपी छन् ।

सो सूचनाका अनुसार २०५० साल वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष नकटेको हुनु पर्दथ्यो ।

तर, अहिले देखिएको विवरणअनुसार सो मितिमा ढकाल २५ वर्ष कटिसकेका थिए । यस आधारमा उनी आवेदनकै लागि अयोग्य देखिन्छन् ।

ढकालको सुचना प्रहरी अभिलेखबाटै चुहिएपछि एक प्रहरीलाई निलम्बनसमेत गरिएको थियो ।

एआईजी भीमप्रसाद ढकालको प्रहरी अभिलेखको जन्ममिति २०२५ साल मंसिर २८ गते छ । तर नागरिकतामा २०२४ साल मंसिर २८ छ । शैक्षिक योग्यताको विवरणमा २०२५ साल मंसिर २८ छ ।

यस्तोमा ढकालको जन्म मिति फरक पर्न गएको अवधि एक वर्ष देखिन्छ । नागरिकता लिएको वर्षको आधारमा हेर्ने हो भने भीम ढकाल प्रहरी निरीक्षकका लागि आवेदन दिँदा २५ वर्ष ४ महिना ३ दिनका भएका थिए ।

यो आधारमा उनी सेवा प्रवेशकै लागि अयोग्य हुने प्रहरीकै अधिकारीहरु बताउँछन् ।

प्रहरीकै बहालवाला एआईजीहरुका अनुसार यो ब्याचका जोकोही पनि २०२४ सालमा जन्मिएको विवरण नागरिकतामा उल्लेख भए उनीहरु २०५० सालको आवेदन अनुसार दर्खास्त दिन नै योग्य नहुनुपर्ने हो ।

ढकाल र एआईजी श्यामलाल ज्ञवालीबाहेक उनका तत्कालीन सबै ब्याचीको प्रमाणपत्रमा जन्ममिति २०२५ साल छ ।

यस्तो छ प्रहरी नियमावलीमा

प्रहरी नियमावली ०७१ को नियम १२७ को उपनियम २ को ख मा वर्ष संवत् मात्रै उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति कायम गर्दा नागरिकताको प्रमाणपत्रको हकमा प्रमाणपत्र प्राप्त गरेको मिति, शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा प्रमाणपत्र जारी भएको मिति र वैयक्तिक विवरण (सिटरोल) को हकमा सुरु भर्ना भएको मितिको आधारमा हुने प्रष्ट रुपमा उल्लेख छ ।

०७१ को नियम १२७ को उपनियम २ को ख मा भनिएको छ,‘कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लेखित जन्ममितिहरुको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा ।’ कायम हुने उल्लेख छ ।

ढकालको नागरिकतामै संशोधन

कागजपत्रलाई प्राप्त सुचना अनुसार भीम ढकालको नागरिकता नै संशोधन गरिएको छ ।

राष्ट्रिय किताबखानामा कार्यरत कर्मचारीहरुका अनुसार एआइजी ढकालको नागरिकताको अगाडिपट्टीको भागमा २०२४ साल मंसिर २८ लेखिएको थियो भने सोही नागरिकताको पछाडिपट्टीको भागमा २०२५ साल मंसिर २८ लेखेर प्रमुख जिल्ला अधिकारीले संशोधन लेखेका थिए ।

एआईजी ढकालले आफ्नो जन्ममिति २०२५ साल मंसिर २८ नै भएको निवेदन प्रहरी प्रधान कार्यालयमा दिएका थिए ।

ढकालको जन्ममितिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

र यो पनि …

नेपाल प्रहरीका आईजिपी बसन्त कुवँरलाई बर्खास्त गर्ने तयारी

प्रतिक्रिया