मेडिकल व्यवसायी बिनितासहित १२ जना लागूऔषधसाथ पक्राउ


काठमाडौं – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित कविता फार्मेसी नामको औषधि पसलबाट नियन्त्रित लागूऔषध  ट्रामाडोल हाईड्रो कोलोराइड ६ सय ५० क्याप्सुलसहित फार्मेसी संचालक गोरखा पालुङ्टार नगरपालिका-४ घर भएकी २५ वर्षीया बिनिता कुमाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगर श्रीनगर गल्ली डेरा गरी बस्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-३ स्थायी घर भएका २६ वर्षीय दिपेन्द्र ओलीसमेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३८ हजार ९४ क्याप्सुलसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले  दिपेन्द्रको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार ब्यारेलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ ग्राम ८ सय मिलिग्रामसहित बैतडी पाटन नगरपालिका-८ बस्ने २२ वर्षीय गणेश महरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ भथौडा टोलबाट अवैध लागूऔषध गाँजा २२ किलो ४ सय ९० ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय अमित कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले अमितको गोठमा लुकाई छिपाई राखिएको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

पर्वत, कुश्मा नगरपालिका-७ खरेहाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल हाईड्रो कोलोराइड १ सय ८५ क्याप्सुलसहित  सोही नगरपालिका-३ दुर्लुङ बस्ने १६ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कुश्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बारा, निजगढ नगरपालिका-८ स्थित तामागढी गेटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १५ क्याप्सुलसहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने ३० वर्षीय बिकास रुम्बालप, सोही नगरपालिका-२ सिंगौल बस्ने २९ वर्षीय गोपाल श्रेष्ठ र २२ वर्षीय रुपेश मगर रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले बिकासलाई उक्त लागूऔषधसहित पक्राउ गरेश्चात सोधपुछ गर्दा उक्त लागूऔषध खरिद गर्न आएका प्र.२-०३-००४ प ८९२१ नम्बरको मोटरसाइकलमा सवार गोपाल र रुपेशलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१ शिवमन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-६ बस्ने २९ वर्षीय निरज चौधरी र सोही नगरपालिका-८ बस्ने २१ वर्षीय अकबर डगौरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूसँगै रहेका सोही नगरपालिका-८ बस्ने २१ वर्षीय सुमित चौधरीसमेतलाई जाँच गर्ने क्रममा सुमित फरार भएपश्‍चात सुमितको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ६० मिलिग्राम फेला पारी बरामद गरेको छ । हाल फरार सुमितको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया