दम्पत्ती बेपत्ता प्रकरणः इन्सपेक्टरको कमाण्डमा सीआईबीको टोली गठन


काठमाडौं – प्रहरी प्रधान कार्यालयले महोत्तरीका बेपत्ता दम्पती प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीलाई परिचालन गरेको छ। यसअघि २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गरिरहेको थियो।

झा दम्पतीको घटनामा २ नम्बर प्रदेश प्रहरी कार्यालयले चासो नदेखाएको भन्दै मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ सहितका ४४ वटा संघसंस्थाले घटनाको सिआइबीले असुन्धान गर्नुपर्ने माग गरेका थिए।

अज्ञात समूहले ओछ्यानसहित बेपत्ता पारेको २३ दिनपछि अनुसन्धानको लागि सिआइबीको टोली परिचालन गरिएको हो।

सिआइबी प्रमुख सहकुल थापाले घटनाको अनुसन्धानको लागि टोली परिचालन भएको पुष्टि गरे। ‘अनुसन्धानको लागि प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा टोली गठन भएको छ,’ थापाले भने, ‘टोली आजै महोत्तरी प्रस्थान गरिसकेको छ।’ सम्भवतः छिट्टै नतिजा आउने समेत थापाले बताए।

गत फागुन १० गते घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीको अवस्था अझै अज्ञात छ।

उनको घर र चौकसमा रगतका छिटा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले फागुन ११ गते मंगलबार बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको छ। तर, आज २३ औं दिन बितिरहँदा वृद्ध दम्पतीको खोजीमा जिल्ला प्रहरी, प्रदेश प्रहरी र विभिन्न गोप्य सुराकी लगाई सकिएको अवस्थामा पनि उनीहरूको कुनै अत्तोपत्तो लागेको छैन।

प्रतिक्रिया