जब अमेरिकन आर्मीले सिरियामा पाएको २२ करोड पठाउँछु भन्दै मेसेज पठायो…


काठमाडौं- काठमाडौं बस्ने शुनिल(काल्पनिक नाम)लाई एक विदेशी फेसबुक आइडीबाट साथी बन्न अनुरोध आउँछ । शुनिलले अनुरोध स्विकार गरेपछि क्याथरिन सिन्डेभेरा नाम गरेको उक्त आइडीबाट मेसेज आउन सुरु हुन्छ । सुरुमा दुवैबीच हालखबर र कामकाजबारे कुराकानी हुन्छ ।

त्यसपछि क्याथरिनले एउटा अनुरोध गर्छ । यता शुनिलले ‘हुन्छ’ भनेपछि क्याथरिनले आफू अमेरिकन आर्मी भएको र सिरिया मिसनमा खटिएको बताउँछ । त्यसपछि उनले मिसनको दौरानमा आतङ्ककारीहरूले लुकाई राखेको १ दशमलव ७ मिलियन डलर अर्थात २२ करोड ६८ लाख ९७ हजार ३ सय नेपाली रुपैयाँ फेला पारेको बताउँछन् । उनले त्यो रकम अमेरिका लैजान नमिल्ने भएकाले शुनिललाई पठाउने बताउँछन् ।

उनले पछि नेपाल आएर त्यो रकमले विद्यालय र अस्पताल सञ्चालन गनुपर्ने र सो रकमको ३० प्रतिशत अर्थात् झण्डै ६८ लाख लग्न भन्छन् । शुनिलले अनुरोध स्वीकारेपछि क्याथरिनले रकम पठाउने बताउँछन् ।

त्यसपछि शुनिललाई ह्वाट्स एप नम्बरबाट फोन आउँछ । फोन गर्नेले आफू युएनको कूटनीतिक एजेन्ट भएको भन्दै त्रिभुवन विमानस्थलमा पार्सल आएको बताउँछन् ।

उनले पार्सल पाउन भन्सार शुल्कबापत १ लाख ४६ हजार बीरवल घर्तीमगरको नामको बैंक खातामा पठाउन भन्छन् । त्यसपछि शुनिलले भन्सार शुल्क बापत रकम पठाए तर, सामान भने पाएनन् ।

उनले बल्ल आएर आफू ठगिएको पत्तो पाए । त्यसपछि उनी उजुरी लिएर प्रहरीकहाँ गएका थिए । प्रहरीले अनुसन्धान गर्दा शुनिललाई ठग्ने व्यक्ति दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–९ घर भएर काठमाडौंको मित्रनगर बस्ने २१ वर्षीय वीरबल घर्तीमगर रहेको खुल्यो ।

उनले शुनिललाई जस्तै सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत कुरा गरेर विदेशबाट लाखौँ डलर पठाएको छु भनेर धेरैलाइै ठगेको खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले ३ जना पीडितबाट १६ लाख ६२ हजार रकम ठगेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

प्रतिक्रिया