ओलीलाई साथ दिने माओवादी नेताको परिचय फेरियो, एउटालाई एमाले उपाध्यक्ष, अरुलाई के–के?


काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने माओवादी केन्द्रका नेताको परिचय फेरिने भएको छ।

गृहमन्त्री रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणि थापालगायतलाई एमालेका विभिन्न जिम्मेवारीमा राख्ने सहमति भएको छ।

प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेलसँग भएको छलफलका क्रममा बादललाई उपाध्यक्ष दिने तयारी भएको स्रोतले जनाएको छ।

विघटन भएको एकीकरणको अवस्थामा अन्य माओवादी नेताले जुन पदीय जिम्मेवारी पाएका थिए एमालेमा सोही जिम्मेवारीमा राख्ने र कार्यकर्तालाई विभिन्न कमिटीमा सोहीअनुसार राखिने भएको जनाइएको छ।

रायमाझी, भट्ट, साह र थापासहितलाई स्थायी समिति तथा अन्यलाई पनि उचित जिम्मेवारीमा राखिने सहमति भएको बताइएको छ। कम्तिमा एमालेको संगठनमा १५ प्रतिशतको हिस्सेदारी दिने अहिलेको सहमति छ।

एमालेका एक जना नेताले भने,‘त्यो बढेर २०–२५ प्रतिशतसम्म पनि पुग्नसक्छ तर उचित हिसाबले पदीय मर्यादा र जिम्मेवारीमा एउटा सहमति हुनेछ।’

प्रतिक्रिया