

प्रदेश प्रमुख झाद्वारा प्रमाणीकरणका लागि पेश भएका दुई विधेयक फिर्ता

जनकपुर – प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) ले प्रदेश सरकारबाट पेश भएका दुई अध्यादेश फिर्ता गरिदिएका छन् । प्रदेश सरकारले प्रमाणीकरणका लागि स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेको थियो ।
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनाएको विधेयक पारित गराएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । उक्त विधेयकमा मातृत्व सुरक्षा लगायतका विषय वस्तुहरु नसमेटिएको भन्दै आवश्यक सुझाव सहित परिमार्जन गरेर ल्याउन प्रदेश प्रमुख झाले फिर्ता गरिदिएका हुन् ।
त्यसैगरी प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो । उक्त विधेयकमा किसान लगायतकाहरुलाई पदक दिने व्यवस्था नगरिएको भन्दै सुझाव सहित प्रदेश सभालाई विधेयक फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश २ मा प्रदेशसभाबाट हालसम्म ३९ वटा विधेयक प्रमाणीकरण भएको छ । प्रमाणीकरणसँगै ऐन बनेपनि अधिकांश ऐन संघीय ऐनको अभावमा कार्यान्वयन हुन सकेको छैन ।

