

कान्ति अस्पतालमा उपचार नपाएकी सेन्जलकाे निधन

काठमाडौं- कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ।
शाहीको नेपाल-भारत मैत्री अस्पताल, चाबहिलमा उपचारको क्रममा आइतबार निधन भएको आफन्तले जानकारी दिएका छन् ।
शाहीको किड्नीमा समस्या आएसँगै चैत ६ गते राति ११ बजे बुटवलबाट काठमाडौं ल्याइएको थियो ।
काठमाडौं ल्याउनुभन्दा अगाडि उनकाे बुटवलको आम्दा अस्पतालमा उपचार भइरहेको थियो । उक्त अस्पतालमा उपचार हुन नसकेपछि उनलाई उक्त अस्पतालले काठमाडौंको कान्ति बाल अस्पतालमा रिफर गरेको थियो ।
काठमाडौं ल्याउदा उनलाई बाटोमा स्वासप्रश्वासमा समस्या आएकोले उनको अवस्था नाजुक बनेकाे थियाे । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने थियो तर कान्ति बाल अस्पतालले भेन्टिलेटर नभएकोले उपचार गर्न मानेको थिएन ।
त्यसपछि उनको नेपाल-भारत मैत्री अस्पतालमा उपचार भइरहेको थियो।
कान्ति बाल अस्पतालमा भेन्टिलेटर हुँदा पनि अन्त पठाएको आफन्तकाे आरोप थियो । त्यसको केही दिनसम्म पनि अस्पतालको सामाजिक सञ्जालमा चाैतर्फी आलोचना भएकाे थियो ।

