

मदिरा सेवन गरी हल्ला गर्नेलाई सम्झाउन जाने प्रहरी कुटिए

बझाङ- बझाङमा प्रहरी सहायक हवल्दारमाथि आक्रमण भएको छ । जिल्लाको दुर्गाथली गाउँपालिका-२ का विनोद रावल र जयपृथ्वी नगरपालिका-७ का दिनेश महराले प्रहरी सहायक हवल्दार योगेन्द्र खड्कालाई आक्रमण गरेका हुन् ।
उनीहरुले शनिबार मध्यराति केदारस्युँ गाउँपालिका-९ झोताको एक पसलमा मदिरा सेवनगरी होहल्ला र झगडा गरिरहेका थिए । होहल्ला र झगडा गरिरहेको गुनासाे आएपछि घटनास्थल पुगेका प्रहरीलाई विनोदले आक्रमण गरेका हुन् ।
उनले सहायक हवल्दार खड्काको टाउकोमा ढुङ्गाले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक चौधरीले जानकारी दिए । घाइते प्रहरी हवल्दारको झोतामा सामान्य उपचारपछि जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
आक्रमण गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

