

फाइनलमा नेपालको लज्जास्पद हार, पिएनजीसँग ८६ रनले पराजित

काठमाडौं — नेपाल हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि हात पार्न असफल भएको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाउँदै नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि तीन जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके । सन्दीप जोराले सर्वाधिक १७ रन बनाउँदा आरिफ शेखले १५ तथा रोहित पौडेलले १२ रन बनाए ।
त्यसअघि नेपालका कुशल भुर्तेल र आकाश चन्दको ३÷३ विकेटको मद्दतले पिएनजीले १७१ रन बनाएको थियो ।

