

आफू कडा सुरक्षा घेरामा बसेर जनतालाई लाठी बर्साउने अधिकार अर्थमन्त्रीलाई छैन : नेता खाँण

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको मोतिपुर क्षेत्रका जनतालाई दमन गरेर औधोगिक क्षेत्रको शिलान्यास गरेको नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले बताएका छन् ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता खाँणले आफू कडा सुरक्षा घेरामा बसेर जनतालाई लाठी बर्साउने अधिकार अर्थमन्त्रीलाई नभएको बताएका छन् । उनले मन्त्री पौडेललाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।
जबरजस्ती डर धम्की देखाएर गरीएको विकासको औचित्य नरहेको भन्दै नेता खाँणले गम्भीर बन्न सरकारलाई आग्रह गरे । नेता खाँणले प्रेस विज्ञप्ती जारी गर्दै मौतिपुर क्षेत्रमा लामो समयदेखि बासोबास गरेका स्थानीयको मागलाई तत्काल सम्बोधन गनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार स्थानीयका मागको सम्बोधन नै नगरी अर्थमन्त्रीले जबरजस्ती शिलान्यास गरेका थिए । आफ्ना माग सम्बोधन नै नगरीएपछि बिरोधमा उत्रेका स्थानीयले अर्थमन्त्री पौडेललाई मञ्चबाट बोल्दा बोल्दै भाग्न बाध्य पारेका थिए । सो क्रममा स्थानीय र प्रहरी बीच झडप पनि भयो । प्रहरी र प्रदर्शनकारी दुवै तर्फ केही व्यक्ति सामान्य घाइते भएका छन्
यसैबीच, नेकपाको प्रचण्ड-माधव समूहका नेता घनश्याम भुसालले पनि अर्थमन्त्री बिष्णु पौडेलले जनतामाथि लाठी बर्साएर औधोगिक करिडोरको शिलान्यास गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार मोतिपुर औधोगिक क्षेत्रको शिलान्यास कार्यक्रमको विरोधमा उत्रेका स्थानीयमाथि दमन गरीएको भन्दै नेता भुसालले त्यसको विरोध गरेका हुन् ।

