

प्रचण्डलाई रामचन्द्र पौडेल नियतीको स्वाद चखाउने तयारीमा कांग्रेस!

काठमाडौं– प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगर्ने सन्दर्भको नयाँ सहमति विकास गर्ने भएको छ।
आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पदका केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्डलाई प्रस्तावित गर्ने तयारी छ। तर, कांग्रेसले सो प्रस्तावमा समर्थन गरे पनि नयाँ सरकार गठनमा भने प्रचण्डलाई विश्वासको मत नदिने रायमाथि छलफल गरिरहेको छ।
जसरी माधवकुमार नेपालले प्रधानमन्त्रीमा राजीनामा दिएपछि आफ्ना नेता रामचन्द्र पौडेलले १७ पटकसम्म प्रधानमन्त्रीका लागि दौडन परेको थियो, प्रचण्डको हालत पनि त्यहि नियतिको हुनसक्ने कांग्रेसका उच्च तहका नेताहरू बताउँछन्।
‘कम्युनिस्ट विश्वास नहुने भएकाले कुनै पनि समूहसँग सत्ता समीकरण नहुने रायमा सर्वसम्मत भएर उभिने तयारी भएको छ। यसो हुँदा कांग्रेसको समर्थन बिना कोही पनि प्रधानमन्त्रीमा टिक्न सक्नेवाला छैनन्’, उच्च तहका एक नेताले भने।
सभापति शेरबहादुर देउवाले अहिले नै आफूलाई प्रधानमन्त्री बन्ने हतारो नभएको प्रतिक्रिया दिइसकेका छन्। यसको अर्थ नै कांग्रेस कम्युनिस्टको कुनै समूहको समर्थनमा उभिन नचाहेको प्रष्ट संकेत हो। यसअघि भने नेतृत्व पाउने अवस्था नआए सरकारमा नजाने स्पष्ट सन्देश कांग्रेसले दिएको थियो।
तैपनि आइतबार बिहानदेखि विकास हुने घटनाक्रमका आधारमा मात्रै अन्य निर्णय लिन सकिने नेताहरू बताउँछन्।
यता जनता समाजवादी पार्टी पनि कुनै निर्णयमा पुग्ने अवस्थामा छैन। जसपाभित्र मतभेद रहेका कारण अब के गर्ने भन्ने विषय सदनको बैठकको राजनीतिक घटनाक्रमले मात्र स्पष्ट हुने बताइएको छ।

