ओमन पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाण्डे पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीका लागि ओमन पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का उज्वलराज पाण्डे छन् । बौद्धमा बस्दै आएका पाण्डेलाई आइतबार पक्राउ गरिएको हो ।

पाण्डेले विवेक सुनारसहित तीनजनालाई वैदेशिक रोजगारीका निम्ति ओमन पठाइदिने र त्यसका निम्ति प्रतिव्यक्ति दुई लाख ५० हजार रुपैयाँ लाग्ने बताएका थिए । उनले पीडितबाट पटक–पटक गरी पाँच लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया