उपत्यकामा चोरीको गाडीको बिगबिगी

अपराध अनुसन्धानको नियन्त्रणमा ५ सवारी


काठमाडौं – पछिल्ला दिनमा उपत्यकामा चोरीको गाडीको बिगबिगी नै रहेको पत्ता लागेको छ ।

पछिल्लो समय उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध लागुऔषध बेचबिखन, नक्कली कागजात बनाई भिजिट भिषामा विदेश कामदार पठाउने कार्यको पर्दाफास गरेसँगै चोरीका गाडीको बिगबिगी रहेको सूचना पाएसँगै निजी सवारीमा निगरानी बढाउन थालेको हो ।

पछिल्लो समय उपत्यकामा चोरीका बिगबिगी नै रहेपछि अपराध अनुसन्धान कार्यालयले  गाडीहरुमा निगरानी बढाएको छ । सोही क्रममा निजी नम्बर प्लेट राखेर चलाइएका ५ वटा गाडीहरु बरामद गरेको छ ।

अनुसन्धान कार्यालयले अनुसन्धानको क्रममा राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका गाडीहरु यातायात व्यवस्था विभागमा भने दर्ता नभएको भेटिएका छन् । ती गाडीहरुमा बागमतीकै नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा फेला पारेको हो । स्रोतका अनुसार ती गाडीहरु भारतबाट नेपाल प्रवेश गराई बिलबुक समेत नक्कली बनाएर प्रयोग गरिरहेको अवस्थामा भेटिएको हो ।

साथै कार्यालय स्रोतका अनुसार उपत्यकामा अझै दुई दर्जनभन्दा बढी चोरीका गाडीहरु हुनसक्ने अनुमान गरिएको छ । अहिले यस्ता चोरीका गाडी नियन्त्रणमा लिनका लागि कार्यालयले एक विशेष टोली नै खटाएको पनि स्रोतले जनाएको छ ।

कतिपय बिचौलियाहरुले यस्ता गाडी निजीरुपमा प्रयोग गर्ने र कतिपयले भाडामा लगाउने गरेको पनि जनाइएको छ ।

अहिलेसम्म कार्यालयले नियन्त्रणमा लिएका गाडीहरु बागमती प्रदेश ०१–०२६ च ६५७१, बागमती प्रदेश ०१–०२३ च २६५७, बा २१ च १४६७ लगायतका नम्बर राखेर प्रयोग गरिएको गाडीहरु नियन्त्रणमा लिएको छ । विशेष गरी टाटा, सुजुकी र हुन्डाईका त्यस्ता गाडीहरु भेटिएको पनि कार्यालय स्रोतले जनाएको छ । यी गाडीहरुको भन्सार र यातायात कहिँ पनि रेकर्ड नभएको पनि जनाइएको छ ।

यसअघि केही महिना अगाडि काठमाडौं परिसरले पनि नक्कली कागजातसहितका ५ वटा गाडीहरु नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया