

धनुषामा बालिका मृत फेलाको घटनामा दुईजना पक्राउ

धनुषा- धनुषामा बालिकाको शव फेला परेको घटनामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
धनुषाको सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि दुईजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको धनुषाका डिएसपी रञ्जन अवाले बताए ।
उनका अनुसार पछिल्लो २४ घन्टादेखि हराइरहेकी बालिकाको शव सतोखर पोखरी नजिकै पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । शव शङ्कास्पद रहेकाले पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको अवाले बताए ।
गत बुधवार बालिकाको छिमेकीमा एकजनाको विवाहको मटकोर कार्यक्रम थियो । मटकोरमा पोखरीबाट माटो निकाल्न रथमा चढेर बालिका पनि गएकी थिइन् । सोही क्रममा गाउँका केही युवाहरुले ती बालिकालाई फकाइफुलाई सँगै लगेर बलात्कार गरेको एकजना स्थानीयले बताए ।

