भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा धमाधम पक्राउ पर्दै निगमका अधिकृत


काठमाडौं– नक्कली कागजपत्र बनाएर नेपालीलाई भिजिट भिसामा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा तस्करी हुने गरेको पाइएको छ । नेपालीलाई त्यहाँ लगेर अलपत्र पारिएको घटना बाहिर आउन थालेपछि प्रहरीले आफ्नो अनुसन्धान अगाडी बढाएको छ ।

त्यो क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका ६ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र मञ्जरी ट्राभल्सका भक्तबहादुर थापालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुसँग सोधपुछका क्रममा अध्यागमनका कर्मचारीकै मिलेमतोमा विदेश पठाउने गरेको खुलेको थियो । त्यसपछि प्रहरीले सोही गिरोहमा संलग्न एसिई कन्सल्टेन्सीका सञ्चालक अनिष अमात्य, प्रगति विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका सञ्चालक पशुपति मैनाली, एस टु अबरोड कन्सल्टेन्सीका सञ्चालक सागर चापागाईं, एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

मावन तस्कर समूहको चेन उनीहरुसम्म मात्रै टुंगिएन । नक्कली कागजपत्रमार्फत भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गर्नेमा नेपाल वायु सेवा निगमका अधिकृतहरु समेत रहेको पाइएको छ । सोही आरोपमा नेपाल वायु सेवा निगमका विश्वनाथ कोइराला पक्राउ परेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप तीनजना अधिकृतलाई पक्राउ पनि पक्राउ परेका छन् । वायु सेवा नियमका अधिकृत होमनाथ पोखरेललाई हिजो(मंगलबार) पक्राउ गरिएको थियो । भने, बुधबार निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुलाई विमानस्थलबाटै पक्राउ गरिएको हो ।

उनीहरु भिजिट भिसामा कामदार पठाउने गिरोहमा संलग्नता देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । वायुसेवा निगमका अधिकृतहरूले गिरोहसँग मिलेर कमिसन खानेको गरेको एक अधिकारीले बताए ।

भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको थियो । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया