कानको लोती नै चुँडाएर वृद्धाको सुन लुट्ने एक पक्राउ


लमजुङ – लमजुङमा एक वृद्धाको कानबाट सुन लुटेको आरोपमा एक जनालाई पक्राउ परेका छन् ।

प्रहरीले दोर्दी –१, भारते एक्लेखेतका ३५ वर्षीय सन्तोष गिरीलाई छिमेकी वृद्धाको कानको लोतीनै चुँडाएर सुन लुटेको आरोपमा पक्राउ गरेको हो ।

गिरीले कात्तिक २८ गते गोवर्द्धन पूजाको राति छिमेकी ८५ वर्षीया विष्णुकुमारी थापाको कानको लोती चुँडाएर सुन लुटेको जनाइएको छ ।

कान्छो छोरा काठमाडौं रहेकाले वृद्धासँग बस्दै आएकी बुहारी तिहारमा काठमाडौं गएकी थिइन् । वृद्धाको साथीका रूपमा उनकी कान्छी बहिनी आएकी थिइन् ।

कान्छी बहिनी खोपीमा सुतेको र घरभित्र सुतेको अवस्थामा वृद्धा लुटिएकी थिइन् । कानको रिङ तान्ने क्रममा थापाको बायाँ कानको लोती चुँडिएको प्रहरीले जनाएको छ । दायाँ कानको लोती पनि आधा चुँडिएको प्रहरीले बताएको छ ।

लुटिएको सुन बरामद हुन नसकेपछि पीडित परिवारले ती युवकविरुद्ध अभद्र व्यवहार गरेको अरोप लगाउँदै जाहेरी दिएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया