

जापान पठाइदिने भन्दै ठगी गर्ने २ पक्राउ

काठमाडाैं – जापान पठाइदिने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
खोटाङ घर भई काठमाडौं महानगर-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राजकुमार गुरूङ र सुनसरी घर भई घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ पक्राउ परेका हुन्।
उनीहरूले वैदेशिक रोजगारका लागि जापान पठाइदिने भन्दै पटकपटक गरी पीडितबाट २ लाख ७० हजार रुपैयाँ लिएको आरोप छ।
एसपी रेग्मीका अनुसार उनीहरूले जापानमा जान पीडितलाई १५ लाख भए पुग्ने बताएका थिए। त्यहाँ कुकको काममा लगाइदिने र मासिक एक लाख रुपैयाँ बराबरको तलब हुने भनेर पीडितलाई प्रलोभनमा पारेर ठगी गरेको खुलेको हो।

